स्कटल्याण्डको शानदार जित, नामिबिया १० विकेटको फराकिलो अन्तरले पराजित

Advertisement

काठमाडौं । ओपनर जर्ज मुन्सेले शतकीय पारी खेलेपछि बुधवार स्कटल्याण्डले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नामिबियामाथि १० विकेटको फराकिलो जित निकालेको छ । 

कीर्तिपुरस्थित खेल मैदानमा बुधबार नामिबियाले दिएको १५४ रनको लक्ष्य स्टकल्याण्डले २२।१ ओभरमा बिना कुनै क्षति पूरा गरेको हो । स्कटल्याण्डका लागि मुन्सेले ६१ बलमा १२ चौका र ७ छक्का सहयोगमा अविजित १०३ रनको पारी खेलेका हुन् । यस्तै अर्का ओपनर काइल कोट्जर अर्धशतकीय पारी खेल्न चार रनले चुके । 

Advertisement

उनले ७२ बलमा ७ चौकाको मद्दतमा अविजित ४६ रन जोड्न सफल भए । यससँगै नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिति त्रिकोणात्मक श्रृंखलामा नामिबियाले लगातार दोस्रो हार भोगेको छ । यसअघि मंगलवार आयोजक नेपालसँग २ विकेटले पराजित भएको थियो ।

यसअघि टस हारेर पछि ब्याटिङको निम्तो पाएको नामिबियाले ३९।२ ओभरमा सबै विकेट गुमाएर मात्र १५३ रन जोडेको थियो । नामिबियाका ओपनर लो हेन्डर लोहोरेन्सले ८८ बलमा पाँच चौकाको सहयोगमा व्यक्तिगत ५४ रनको पारी खेलेका थिए । बर्नाड स्कोल्चले ३० र जेन ग्रिनले २५ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । मंगलवार नेपालबिरुद्ध शतक पूरा गरेका मिकेल भान लिंगेनले चार रनमा पवेलियन फर्किन पुगेका थिए ।

नामिबियाको इनिङलाई सस्तैमा समेट्ने क्रममा स्कटल्याण्डका लियस्कले सर्वाधिक ४ विकेट लिए । उनले ८.२ ओभरमा २४ रन खर्चिएका थिए । यस्तै मार्क वाट् र सफियान सासिफले समान तीन विकेट निकाल्न सफल भए । नौ ओभर बलिङ गरेका मार्क वाट १ मेडन ओभर राख्दै ३० रन खर्चिंदा सफियान सासिफले ८ ओभरमा २ मेडन ओभर राख्दै २९ रन खर्चिएका थिए ।

यससँगै स्कटल्याण्ड ३३ खेलमा ४८ अंकसहित शीर्ष स्थानमा छ भने ओमान ३६ खेलमा ४४ अंकसहित दोस्रो,३२ खेलबाट ३७ अंक बटुलेको नामिबिया तेस्रो र ३६ खेलमा ३५ अंक जोडेको अमेरिका चौथो स्थानमा छ । पाँचौ स्थानको युएईको २६ खेलमा २७ अंक छ भने छैटौं स्थानको नेपालको २५ खेलमा २० अंक छ । सातौं स्थानको पपुवान्युगिनीको २८ खेलमा ५ अंक छ ।

त्रिकोणात्मक श्रृंखलामा अब यी दुई टोलीबीच आगामी सोमवार हुनेछ भने शुक्रवार नेपाल र स्कटल्याण्डबीच पहिलो खेल हुनेछ ।

Advertisement

Advertisement