आफू जहाँ बसेको छ, त्यहींबाट भोट हाल्न पाउने कानुन चाहियोः थपलिया

Advertisement

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताएका छन् । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आम मतदाताहरुले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानून बनाउनुपर्ने बताए । 

अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोवास भएको ठाउँबाट पनि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मतदान गर्न पाउनुपर्ने थपलियाले बताए । कर्मचारी र कैदीबन्दीलाई यसैपटक समानुपातिकमा मतदान गर्न दिइएको उल्लेख गर्दै उनले आगामी दिनमा कानून बनाएर आम मतदातालाई दिइनुपर्ने बताए । यस्तो व्यवस्था गर्न सके मतदान गर्नेको संख्या बढ्ने थपलियाको विश्वास छ । 

Advertisement

उनले भने, ‘अब बन्ने कानूनमा त्यो व्यवस्था गर्नुपर्छ भन्ने मेरो बुझाई छ, नेपालभित्र अन्तिम मतदाता नामावलीमा नाम भएको कुनै पनि व्यक्ति । घरमा उसको मतदान केन्द्र छ, मतदान केन्द्रमै पुग्छ ठिक छ । तर तपाईं एउटा एनजीओमा काम गरिरहनुभएको छ काठमाडौंमा । तपाईंको घरचाहिं मनाङ हो वा ताप्लेजुङ हो । तपाईंले भोट हाल्नै नपाउने भन्ने हुन्छ ? जो जहाँ छ, त्यहीँबाट कम्तिमा पनि समानुपातिक तर्फबाट उसले भोट हाल्न पाउने कुराको ग्यारेन्टी गर्नेगरी कानून बनाउनुपर्छ ।’ 

थपलियाले थपे, ‘कर्मचारीलाई त दियौँ हामीले यो पल्ट । कैदी, बन्दीलाई दियौँ हामीले । तपाईं कैदीबन्दी भन्दा पनि कमजोर हो र ? तपाईंलाई दिनुपर्छ । यसो गर्यो भने मत त यसै बढ्यो नि । मलाई लाग्छ यस्तो मत, १० लाख भन्दा बढी मतदाताले यसपाली भोट हाल्न पाएका छैनन् । त्यसकारण हामीले मात्रै भन्न सक्दैनथ्यौ कानूनमा थिएन् । विदेशमा बसेका मतदाताको कुरा होला । यसरी जानुपर्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले जनअनुमोदित राजनीतिक दलहरुलाई मात्रै सर्वदलीय बैठकहरुमा समावेश गराउने प्रावधान राख्नेगरी आयोगले निर्णय गर्न लागेको बताए । उनले जिल्लामा सर्वदलीय बैठक राख्नुपरेमा सो जिल्लामा पार्टीको जिल्ला समितिको विवरण पेस गरेको, कुनै तहमा प्रतिनिधित्व गरेको दलहरुलाई मात्रै बोलाउन आफूले निर्देशन दिएको बताए । 

थपलियाले दल दर्ता गर्नु उपलब्धि नभएर जनताद्वारा अनुमोदित हुनु र वैद्यता सिर्जना गर्नु ठूलो कुरा भएको बताए । उनले आयोगले समावेशिता र लैंगिक समानतालाई अत्याधिक समेटेर निर्वाचन कानून तयार गरिरहेको बताए ।

Advertisement

Advertisement