नेपालको लगातार तेस्रो जित, नामिबिया ३ विकेटले पराजित, संदीपले तीन विकेट लिए

Advertisement

काठमाडौं । आसिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी १३९ रनको साझेदारीमा नेपालले विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा शनिवार नामिबियामाथि तीन विकेट सहज जित निकालेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा आसिफ र ज्ञानेन्द्र दोस्रो विकेटमा कीर्तिमानी १३९ रनको साझेदारी गरेपछि नेपालले २७५ रनको लक्ष्य १५ बल अगावै पूरा गर्दै लगातार तेस्रो जित निकालेको हो । नेपालले लिग–२ को एउटा श्रृंखलामा लगातार तीन खेलमा पहिलो पटक सुखद नतिजा निकालेको हो । २०२० मा काठमाडौंमा भएको ओमान र अमेरिका सम्मिलित श्रृंखला, २०२१ मा मस्कटमा ओमान, अमेरिका सम्मिलित श्रृंखला र २०२२ मा दुबई भ्रमणमा युएई र पपुवान्युगिनी श्रृंखलामा नेपालले यसअघि २–२ खेल जितेको थियो ।

Advertisement

शनिवारको जितसँगै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना कायमै रहेको छ । नेपाल २७ खेलमा २४ अंकसहित सात राष्ट्र सम्मिलित लिग २ को अंक तालिकामा छैटौं स्थानमा छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्न नेपालले बाँकी रहेको ९ मध्येको ६ खेल जित्नुपर्नेछ । 

लगातार तेस्रो खेलमा पराजित नामिबिया ३३ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा छ । लिग २ को शीर्ष तीन टोली विश्वकप छनोटमा पुग्ने छन भने शीर्ष ५ टोलीले एकदिवसीय मान्यतालाई कायम रहनेछ । यस अघि नेपालले पहिलो नामिबियालाई २ विकेटले र स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो ।

ओपनर कुशल भुर्तेल १ रनमै आउट भएपछि आसिफ र ज्ञानेन्द्रको जोडिले नेपालको इनिङलाई सम्हालेका थिए । सो क्रममा ज्ञानेन्द्रले सातौं र आसिफले छैटौं अर्धशतक पूरा गर्न सके ।  ज्ञानेन्द्रले नेपालबाट एकदिवसीयमा सर्वाधिक अर्धशतक बनाउने खेलाडी बनेका छन् । 

दुई सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा ज्ञानेन्द्रले ६५ रन बनाए । ज्ञानेन्द्रले ७४ बल खेल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे । ज्ञानेन्द्र र आसिफको साझेदारी नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो साझेदारी हो । कुशल भुर्तेल र रोहित पौडेलले मंगलवार नामिबियाबिरुद्धको खेलमा तेस्रो विकेटका लागि १ सय ३३ रनको साझेदारी गरेका थिए । 

आसिफ ८१ रन बनाउने क्रममा पवेलियन फर्किँदा उनले ९८ बलमा ८ चौका र २ छक्का प्रहार गरेका थिए । यसै खेलमा कुशल मल्ल नेपाली इनिङ्समा अर्धशतक बनाउने तेस्रो खेलाडी बने । उनले लगातार दोस्रो अर्धशतक बनाएका हुन् । कुशलले ४९ बलमा ६ चौका र ४ छक्का प्रहार गरी ६२ रन जोड्दा कप्तान रोहितले ४३ बलमा ५ चौकाको सहयोगमा ३९ रन बनाए । 

दीपेन्द्रसिंह ऐरी १ र सन्दीप जोरा ३ रनमा समेटिए । विजयी चौका प्रहार गरेका सोमपाल कामी ८ रन बनाई अविजित रहे । बलिङतर्फ नामिबियाबाट रुबेन ट्रम्पलमेनले ३ र बर्नान्ड स्कोल्ट्जले २ विकेट निकाले ।

यसअघि नेपाल टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियालये पूरै ५० ओभरमा ६ विकेट गुमाई २ सय ७४ रन बनाएको थियो । जेन ग्रिनले अविजित अर्धशतक बनाउँदा ७५ रनमा अविजित रहे । उनले कुल ६३ बल खेल्दै ११ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै रुबेन ट्रम्पलमेन ७ बलमा २४ रन बनाई अविजित रहँदा ओपनर लो हन्ड्रे लवरेन्सले ४१, कार्ल बिर्केनस्टोकले २० र माइकल भान लिङगेनले २२ रन बनाए । 

कप्तान गेहराड इरास्मस र जान निकोल इटेन समान १५ रनमा आउट भए । नेपालबाट सन्दीप लामिछानेले ३ र करण केसीले १ विकेट लिए । नेपालले अब अन्तिम खेलमा मंगलवार स्कटल्याण्डसँग खेल्नेछ । 

Advertisement

Advertisement