काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धन पाँच वर्ष नै टिक्ने दावी गरेका छन् ।
राष्ट्रपति निर्वाचनपछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने नेकपा एमालेका नेताहरुले बताउन थालेपछि गगनको यस्तो प्रतिक्रिया आएको हो । राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनको अभिमुखीकरण कार्यक्रममा शुक्रबार उनले गठबन्धन गरेर पाँच दल चुनावमा गएकाले पाँच वर्ष नै अहिलेको गठबन्धन बचाउनुपर्ने बताए ।
गठबन्धन तोड्न अहिले पनि केही तत्व लागेको थापाको टिप्पणी छ । उनले भने, ‘कांग्रेससँग धेरै चकचक गर्न नआए हुन्छ। यो गठबन्धन पाँच वर्ष नै टिक्छ। कांग्रेसले धोका दिँदैन। कांग्रेसले दिएको वचन पूरा गर्छ। यो संसद्लाई जोखिममा जान दिँदैनौं। गठबन्धन गरेर चुनावमा गएपछि अब पाँच वर्ष त्यो गठवन्धन बचाउन पर्छ। कि गठबन्धन गर्नु हुन्न थियो अब यसलाई पटकपटक तोड्न मिल्दैन। वचन फेर्न मिल्दैन।’
राष्ट्रपति चुनावमा मत बदर हुँदा लाजमर्दो हुने भन्दै थापाले मतदातालाई फोटो भएको ठाउँमा स्वस्तिक छाप लगाउन पनि आग्रह गरे ।