‘विगतमा मानवताविरुद्धको अपराध गरेका दाहालले देशलाई सही बाटोमा हिंडाउने सामर्थ्य राख्दैनन्’

Advertisement

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल देशको पक्षमा उभिन नसक्ने जिकिर गरेका छन् । विगतमा मानवताविरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री दाहाल देश र जनताको पक्षमा उभिनै नसक्नेगरी कायरता प्रर्दशन गर्न पुग्नु परेको उनको तर्क छ । 

यदु स्मृति दिवसको कार्यक्रममा आइतबार पोखरेलले विगतमा अवलम्बन गरेको उग्रवामपन्थी अतिवादका कारण दाहालसँग देशलाई सही बाटोमा हिँडाउने सामथ्र्य नै नभएको दावी गर्दै पाँच दलीय गठबन्धन असफल भएपछि आफूहरुले देशलाई जोगाउनका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउनु परेको, तर उनले त्यसलाई धान्न नसकेको बताए । 

Advertisement

उनले भने, ‘पार्टी भित्रको अन्तरसंघर्षमा सही कुरालाई निषेध गर्दाखेरी के हुँदोरहेछ भन्ने कुरा सायद आज दाहालले व्यहोरिरहेका पीडाहरु त्यसैसँग जोडिएका छन भन्ने मलाई लाग्दछ । यदु गौतमका कुराहरु सुनेको भए आज दाहाल आफ्नो देशको पक्षमा उभिन नसक्ने मुलुकको प्रधानमन्त्री यस्तो बिडम्बनापूर्ण राजनीतिको यात्रा गर्नु पथ्र्यो । एउटा क्रान्तिकारी, जसले देशको स्वाधिनता, साम्राज्यवाद, सामन्तवादविरुद्धको नेतृत्व गर्यो, आज मुलुकको बारेमा फैसला गर्नुपर्दा चाहिं उभिन सक्ने अवस्थामा छैन् । के कारणले गर्दाखेरी छैन् भने उग्रवामपन्थी अतिवादका कारणले, मानवताविरुद्धको अपराधका कारणले गर्दा ऊ यति कायर बनेको छ कि ऊ देशको पक्षमा उभिन सक्दैन् । जनताको पक्षमा उभिन सक्दैन् । 

पोखरेलले भने, ‘तर शक्ति संघर्षमा वडा चलाखीका साथ नेतृत्व प्राप्त त गरेको छ । तर, देशलाई सही बाटोमा हिँडाउने सामर्थ्य दाहालसँग छैन् । किनकी विगतमा अवलम्बन गरेको बाटो गलत थियो भन्ने कुरा त्यो कायरताले प्रकट गर्छ भन्ने मलाई लाग्दछ । कुनै पनि आन्दोलन सही हुन्थ्यो भने एउटा नेता कायम हुने थिएन । ’
पोखरेलले विदेशी चलखेलका कारण मुलुकमा नयाँ समीकरण बनेको भन्दै त्यो राष्ट्र र जनताको पक्षमा नरहेको पटकपटक दोहोर्याए । 

Advertisement

Advertisement