मलाई मात्रै होइन्, हामी सबैलाई घेराबन्दी गरियो, एक हौंः दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा पाँच हजार जनाको हत्या गरेको भन्दै मुद्दा दर्तापछि तत्कालिन विद्रोही माओवादी पार्टीका नेताहरु एकै मञ्चमा देखा परेका छन् ।

शहीद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशनको नाममा आइतबार आयोजित कार्यक्रममा दाहालले सम्पूर्ण माओवादी घटकहरुलाई एकतावद्ध हुन आग्रह गरे । दाहालले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरुलाई एकताबद्ध हुन आग्रह गर्दै सबै माओवादीहरु एक ठाउँमा केन्द्रित हुने समय आएको बताए । 

Advertisement

विगतमा विभाजित भएर सबैले आ–आफ्नो अनुभवहरु समेटेको भन्दै उनले एक अर्काको अनुभवहरुलाई आफ्नै अनुभवको रुपमा लिएर एकतावद्ध हुनुपर्ने बताए । दाहालले आफुले एकताका लागि सबैसँग कुरा गरिरहेको र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग भने निकै अघि बढिसकेको बताए । 

प्रधानमन्त्री दाहालले आफूमाथि जनयुद्धका कमाण्डरको हैसियतमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न दबाब र घेराबन्दी बिरुद्ध लडिरहेको बताए । उनले मोहन वैद्य किरण, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द र धर्मेन्द्र बास्तोला पनि विभिन्न घेराबन्दीकाबिरुद्ध लडिरहेको आफूले देखेको भन्दै अब सबै मिलेर एक भएर लड्नुपर्ने तर्क गरे । 

दाहालले भने, ‘मैले जनयुद्धको कमाण्डरको हैसियतले अहिले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न खाले दबाब र घेराबन्दीको बिरुद्ध म लडिराखेको छु भन्ने छ मलाई । र मैले के ठान्छु भने विप्लव, बाबुराम, धर्मेन्द्र, किरणजीहरु पनि लडिराख्नु भएकै देख्छु आजभोली । पहिलेजस्तो छैन घटनाक्रमहरु । सबै आ–आफ्नै ढंगले हामी लडिराखेकै छौँ । हामी सबै लडाईं लडिराखेका शक्तिहरु एक ठाउँमा केन्द्रित भएर लड्यो भने यो अमर हुनसक्छ । अनि मात्र हामीले शहीद, बेपत्ता योद्धाका सपनाहरुप्रति इमान्दार भएको ठहरिन्छ ।’

Advertisement

Advertisement