प्रचण्डविरुद्ध ज्यान मुद्दा दर्ता गरे प्रतिवाद गर्न तत्कालिन विद्रोही माओवादी नेताहरु सहमत

Advertisement

काठमाडौं । दश बर्षे सशस्त्र विद्रोह गरेको तत्कालिन नेकपा माओवादी पार्टीका नेताहरुले प्रधानमन्त्रीसमेत रहेकधा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध ज्यान मुद्दा दर्ता गरे प्रतिरोध गर्ने निर्णय गरेका छन् । 

प्रचण्डले तीन बर्षअघि टुँडिखेलमा सशस्त्र आन्दोलनका क्रममा मारिएकामध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका आधारमा सर्वोच्त अदालतले मुद्दा दायर गर्न बाटो खोलिदिएपछि सशस्त्र विद्रोहमा सहभागी नेताहरुले त्यसको प्रतिवाद गर्ने बताएका हुन् । 

Advertisement


उक्त पार्टीबाट टुक्रिएका आठ वटा धारका नेताहरु मंगलबार बिहान बैठक बसेका थिए । उनीहरुले प्रचण्डविरुद्ध ज्यान मुद्दा दर्ता गर्ने कुरा विस्तृत शान्ति सम्झौताविपरीत भएको जिकिर गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आठ पार्टीको बैठकले ‘विस्तृत शान्ति सम्झौताको मर्म र भावनाविपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने’ भनेको छ । 

संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनु पर्ने भन्दै उनीहरुले आफूहरुबीच एकता र सहकार्यको खाँचो पनि ठहर गरेका छन् । 

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष बाबुराम भट्टराई, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी सहभागी थिए । 

Advertisement

Advertisement