‘कांग्रेस र माओवादीको स्वार्थ मिलेकाले हामीले दाहाललाई समर्थन गरेको हो’

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहमति कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्न नहुने बताएका छन् । 

शुक्रबार नानसँग कुरा गर्दै उनले पौडेलले संविधानभन्दा बाहिर गएर गठबन्धनको राजनीतिको साक्षीको रुपमा काम नगर्ने विश्वास व्यक्त गरेका हुन् । रिजालले गठबन्धनमा भएका शर्तहरुको जिम्मा राष्ट्रपतिले लिएर सोही अनुसार भूमिका गर्नुपर्छ भन्ने नसोच्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव पनि दिए । 

Advertisement

गठबन्धनका बीचमा भएको शर्तहरु कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रपतिको नभएको बताउँदै उनले गठबन्धनका बिचमा भएका सहमति कार्यान्वयन पार्टीले गर्ने र त्यसका लागि नेपाली काँग्रेस इमान्दार हुने बताए । 

रिजालले भने, ‘हतार हतारमा पुरानो गठबन्धन छोडेर प्रधानमन्त्री बन्नका लागि नयाँ गठबन्धन प्रचण्डजीले बनाउँदाखेरी अब त्यो गठबन्धनको मुल कार्यभारलाई बोक्ने व्यक्ति मात्रै राष्ट्रपति हुनुपर्छ भन्ने भाव रह्यो । त्यस्तो राष्ट्रपति बन्यो भने प्रधानमन्त्रीले संविधानले दिएको भुमिका गर्न सक्दैन भन्ने प्रचण्डजीको मनमा संशय पनि, त्रास पनि पैदा भयो । त्यो संशय र त्रासबाट उहाँले अर्को राजनीतिक गठबन्धन खोजि गर्नुभयो । पुरानो गठबन्धन बाट फिर्ता हुने कोशिस गर्नुभयो । काँग्रेसलाई पनि त्यत्रो क्षतिबाट निस्किन, उम्किनलाई, न्युनीकरण गर्नका लागि नयाँ बाटोको खोजी गर्नुपर्ने हुन्थ्यो । दुईवटै स्वार्थ मिल्यो । हाम्रो पार्टीको पनि उहाँसँग स्वार्थ मिल्यो । त्यसअर्थमा उहाँलाई हामीले समर्थन गर्र्यौं ।’ 

उनले राष्ट्रपति पौडेल गठबन्धन र कांग्रेसको परिधि भित्र नबस्ने बताउँदै थपे, ‘शुयोग्य व्यक्ति राष्ट्रपतिका लागि निर्वाचित हुनुभएको छ । यो संविधानलाई पूर्ण रुपमा आत्मसात गरेको मान्छे । यो संविधानभन्दा बाहिर रत्ति पनि विचार नराख्ने मान्छे समकालिन राजनीतिमा अरु कोही देखेको छैन् ।’ 

रिजालले प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पृष्ठभूमिका नेताहरुलाई मिलाएर सोही अनुरुपको राजनीतिक धार बोकेमा काँग्रेसले साथ दिन नसक्ने बताए । उनले माओवादी केन्द्रका नेताहरुलाई जोखिम पार्न नहुनेमा विगतका सात राजनीतिक दल र तत्कालिन माओवादी पार्टीको प्रतिवद्धता रहेको बताउँदै माओवादी केन्द्र वैचारिक रुपमा अन्य माओवादी घटकहरुसँग एक भएको खण्डमा नेपाली काँग्रेस पनि संसदीय फाँटका राजनीतिक दलहरुसँग एकै ठाउँमा उभिने बताए । 

प्रधानमन्त्री दाहाल काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालासँग गरेको हस्ताक्षर र वर्तमान सभापति शेरबहादुर देउवासँग गरेको सहमति अनुरुप हिँडेमा काँग्रेसबाट धोका नहुने उनले बताए । रिजालले भने, ‘प्रचण्डजीले जुन बाटो, जुन मुलधार गिरिजाप्रसाद कोईरालासँग, सात राजनीतिक दलसँग निर्माण गर्नुभएको हो, यो संविधानले बोकेको बाटो हो । त्यो बाटोमा रहनुभयो भने काँग्रेसबाट धोका हुन्न । त्यो बाटोमा रहनुभएन, र अहिले पनि शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि हिजोका माओवादी पृष्ठभूमिका नेताहरु एक ठाउँमा उभिएर, हिजोको माओवादी राजनीतिलाई बोक्नुपर्छ भन्ने बाटोमा जानुभयो भने प्रधानमन्त्रीको त्यो राजनीति दूरदर्शी ठहर्ने छैन् । म स्वीकार गर्छु जोखिम छ माओवादीका नेताहरुलाई । त्यो जोखिममा उहाँहरुलाई पार्नुहुँदैन ।’ 

Advertisement

Advertisement