‘विस्तृत शान्ति सम्झौताको हस्ताक्षरकर्ता र नेतृत्वकर्तामाथि नकारात्मक सोच राखियो’

दाहालको विश्वास– दुनियाँको कुनै शक्तिले हामीलाई हराउन सक्दैन, उनीहरु नै हार्नेछन्

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताएका छन् । 

सोमवार एकीकृत अखिल नेपाल शिक्षक संगठनको महाविधेशनमा उनले अहिले पनि एकथरी मानिसहरु गणतन्त्रलाई, समावेशी समानुपातिक मान्यतालाई, देशका सबै उत्पीडित वर्ग, समुदायले पाएको अधिकारलाई खोस्न उद्धत्त रहेको दाबी गरे । 

Advertisement

राष्ट्र र जनताप्रति इमान्दार भइरहेसम्म दुनियाँका कुनै शक्तिले पनि आफूहरुलाई पराजित गर्न नसक्ने दाहालको तर्क छ । उनले विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षरकर्ता वा नेतृत्वकर्तामाथि कसैले नकारात्मक सोच राखेर नकारात्मक क्रियाकलाप गरे त्यो सफल नहुने जिकिर गरे । 

दाहालले विस्तृत शान्ति सम्झौतामाथि आफूबिरुद्ध मुदद दर्ता हुँदा तरंग पैदा भए पनि माओवादीलाई भने एकतावद्ध हुन मद्दत पुगेको बताए । उनले मुद्दा दर्तासम्बन्धी रिट पर्नुलाई आफूले शान्ति सम्झौतासम्बन्धी ऐनलाई अघि बढाउनुपर्ने कामका रुपमा लिएको बताए । 

दाहालले अदालतको फैसला पनि शान्ति सम्झौता भन्दा बाहिर नगएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको जिकिर गरे । उनले भने, ‘अहिले पनि एकथरी मानिसहरु यो गणतन्त्रलाई, यो समावेशी समानुपातिक मान्यतालाई यो देशका सबै उत्पीडित वर्ग, समुदायले पाएको अधिकारलाई खोस्न उद्धत छन् । अहिले पनि घेरा हाल्ने र परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेको छ । राष्ट्र र जनताप्रति इमान्दार भइरहेसम्म इतिहास साच्ची छ हामीलाई दुनियाँको कुनै शक्तिले हामीलाई हराउन सक्दैन, उनीहरु नै हार्नेछन् ।’

दाहालले भने, ‘अहिले पनि कहीँ कतैबाट विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षरकर्ता वा नेतृत्वकर्तामाथि कसैले नकारात्मक सोच राखेर नकारात्मक क्रियाकलाप गरे त्यो सफल हुँदैन । जनता नै सफल हुन्छन् । इतिहास जनताले लेख्ने । अस्तिको केही विस्तृत शान्ति सम्झौतामाथि अध्यक्ष र प्रधानमन्त्री नै केही हुन लागेको हो की भनेर देशभर ठूलो तरंग पैदा भयो । यो हामीलाई सहयोग गर्ने कुरा नै भइरहेको छ भन्ने थियो । विभाजित माओवादीलाई एक ठाउँमा आउ, छिटो भन्दा छिटो ऐन अघि बढाउ भन्ने बुझेँ, तत्काल मन्त्रीपरिषद् बोलाएर संसदमा दर्ता गराएँ । अदालतको फैसला पनि शान्ति सम्झौता भन्दा बाहिर गएन त्यसको पक्षमा नै आयो । हामी चिन्तित हुन पर्दैन तर शतर्क हुनुपर्छ ।’

दाहालले शिक्षा ऐन यही सदनमा प्रश्तुत गरी चाँडै पारित गर्ने प्रक्रियामा रहेको बताए । उनले मन्त्रिपरिषद् बैठकबाट जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत सबै आन्दोलनका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गरेको र उनीहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको बताए । 

Advertisement

Advertisement