दाहाल नेतृत्वको मन्त्रिपरिषद विस्तार, अर्थमन्त्रीमा महत, उद्योगमा रिजाल, पूर्ण दिन अझै बाँकी

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद विस्तार भएको छ । नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री भएका उनले अहिले नेपाली कांग्रेसको समर्थनमा समीकरण बदलेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । 

दाहालको यो सातौं मन्त्रिपरिषद विस्तार हो । यद्यपि अझै सरकारले पूर्णता पाउन सकेको छैन् । गत पुस १० गते प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष दाहाललाई कांग्रेस, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका १० दलको समर्थन छ । 

Advertisement

कांग्रेसको सिफारिसमा चार जना मन्त्री नियुक्त भएका छन् । कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधानमन्त्री र रक्षामन्त्री भएका छन् भने प्रकाशशरण महत अर्थमन्त्री, रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, सीता गुरुङ शहरी विकासमन्त्री भएका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टीको सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन् भने एकीकृत समाजवादीबाट बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकासमन्त्री र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।

माओवादी केन्द्रबाट शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् । यसअघि भौतिक पूर्वाधार मन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालय दिइएको छ । सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती र संघीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदी यथावत छन् । 

लोकतान्त्रिक समाजवादी पार्टीका शरदसिंह भण्डारी श्रम तथा रोजगारमन्त्री, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् ।

अझै पाँच वटा मन्त्रालय खाली छ । कांग्रेसभित्र आन्तरिक किचलो र विशेषगरी शेखर कोइराला समूहले बार्गेनिङ गरेका कारण आफ्नो भागमा परेका सबै मन्त्रालयमा मन्त्रीको नाम सिफारिस गरेको छैन् । 

Advertisement

Advertisement