काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मन्त्री बनाउनका लागि पार्टी नेतृत्वले रकम लिने गरेको भन्ने भनाईप्रति विश्वास गर्न नसकिने तर्क गरेका छन् ।
पार्टीका सभापति रवि लामिछानेले करोडौं रुपियाँ लिएर मन्त्री बनाउने गरेको चर्चा भईरहेका बेला सांसद झाले सो भनाईलाई आफूले विश्वास गर्न नसक्ने बताए । सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टी सभापति लामिछानेले मन्त्री बनाउनका लागि रकम असुली गरेको पुष्टि गरेको देखाउन पनि चेतावनी दिए ।
नेपाली काँग्रेसमा आवद्धहरुले ट्वीटरमा पार्टी नेतृत्वले शिक्षामन्त्री बनाउनका लागि आठ करोड लिएको भनेर लेखेको आफूले पनि देखेको उल्लेख गर्दै सांसद झाले पुष्टि गरेर देखाउनुपर्ने बताए । उनले पार्टी नेतृत्वले पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठसँग मन्त्री बनाउनका लागि दुई करोड मागेको भन्ने कुरा पनि सत्य नभएको जिकीर गरे ।
मन्त्री बनाउनका लागि पार्टी नेतृत्वलाई दुई करोड दिनुपर्ने भन्दै श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसँग पैसा मागेको अडियो आईतबार (हिजो) सार्वजनिक भएपछि पार्टीका सांसद श्रेष्ठ निलम्बित भएका छन् । सांसद झाले भने पार्टी नेतृत्वबाट त्यस्तो काम नभएको, बरु आरोप लगाउने काँग्रेस पार्टीभित्र भने त्यस्तो हुने गरेको प्रमाण आफूहरुसँग रहेको दावी गरे ।
दोषीलाई कारबाही गरेर देखाउन पनि काँग्रेस नेतृत्वलाई झाले चुनौति दिए । उनले भने, ‘मैले त्यो साँढे दुई करोड रुपियाँ नेतृत्वले मागेको थियो भन्ने कुरामा विश्वास गर्दिन । र, त्यसको कसैले प्रश्न उठाउँदैछ । मैले पनि ट्वीरमा केही काँग्रेसीजनले लेखेको । ८ करोड रुपैयाँ शिक्षामन्त्री बन्नलाई माग्यो भनेर । त्यसमा म विश्वास गर्दिन । त्यो स्टयाटस लेखेर चुनावका बेलामा स्टन्ट गर्ने हो भने कति दाई भाउजुले के–के लिए भन्ने कुरा त हामीलाई पनि थाहा छ नि । हामीले प्रमाण पेश गरेपछि कारबाही गर्छ त्यो दलले ? म चुनौति गर्न चाहन्छु । कति पटक हामीले सुनेका छौ नि । कहिल्यै यस्तो अभिव्यक्ति र निलम्बन गरेको छ त्यो दलले । त्यो पार्टीहरुले । सुनेर पनि ढाकछोप गर्न खोजेको होइन र ।’
सांसद झाले विवादमा परेपछि निलम्वनमा परेका सांसद श्रेष्ठसँग पार्टीले सम्बन्ध विच्छेद गरेको पनि स्पष्ट पारे । छानवीनका लागि पार्टीका सदस्यहरुलाई प्रभाव पार्न सक्ने भन्दै आफूहरुले निलम्बित सांसद श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेर छानवीनको प्रक्रियालाई अघि बढाउनुपरेको पनि झाले स्पष्ट पारे । उनले आरोप पुष्टि भए निलम्बित सांसद श्रेष्ठमाथि कारबाही हुने पनि स्पष्ट पारे ।
उनले भने, ‘हिजोदेखि नै हाम्रो पार्टीको सञ्चार माध्यामहरुमा, सामाजिक सञ्जालहरुमा रहेको हरेक समूहबाट उहाँलाई आउट गरिसक्यौं । कि उहाँले हामीहरु कसैसँग पनि संवाद नगरोस् । र, त्यहाँ आफ्नो स्पष्टिकरण दिने प्रयास गरेर उहाँले हामीलाई प्रभावमा पार्न नसकोस् भनेर । साथै हाम्रो पार्टीको संसदीय दलको नेताले उहाँसँग कुनै पनि किसिमको संवाद नगर्न पनि किनकी हाम्रो अनुशासन समिति गठन भईसकेपछि उहाँले हामीसँग व्यक्तिगत रुपमा संसद र छलफल गर्नु राम्रो अभ्यास देखिदैन ।’
झाले थपे, ‘अर्को कुरा नेपाली राजनीतिमा यो पहिलो घटना होइन नि । हामीले अर्को टेप प्रकरण वा साउन्ड क्लिप सुनेका थियौं । त्यो व्यक्ति पछि आएर सम्माननीय समेत हुनु भयो । त्यही सुनेका थियौ–जो आएर माननीय पनि हुनु भयो । तर हाम्रो त हेर्नुस्न, सञ्चार माध्याममा त्यो बारेमा समाचार आउनु भन्दा अगाडि नै हामीले निलम्बन गरिसकेका थियौं । कि यो आशंका छ । निलम्बन गरिएको मतलव नै हामीले तपाईहरुको वा हाम्रा मतदाताहरुको विश्वासको सम्मान गरेको हो नि । हामीले ढाकछोप गर्न कसैले पनि खोजेका छैनौं । अहिले पनि मेरो अभिमत ढाका श्रेष्ठप्रतिको समर्थन होइन । यो एउटा प्रक्रियाप्रतिको विश्वास हो ।’
उनले निलम्बित सांसद श्रेष्ठलाई जोगाएर आफूहरुले मतदाताको मतमाथि विश्वासघात नगर्ने पनि पटकपटक दोहोर्याए । व्यवसायी प्रसाईसँगको अडियो प्रकरण सार्वजनिक भएलगत्तै आईतबार (हिजो) सांसद श्रेष्ठलाई निलम्बन गरी ७२ घण्टा भित्र छानवीन गरी आरोप पुष्टि भए कारबाही गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।