माओवादी सरकारमा भएपछि परिवर्तन उल्टिन्न कि भनेको, तर उल्टिएला जस्तो छः दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताएका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा उनले संविधान सभामै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताएका हुन् । 

परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेको भन्दै दाहालले वर्तमान समयमा आफ्नो पार्टी माओवादी केन्द्र सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागे पनि स्थिति सहज नरहेको जिकिर गरे । उनले जिम्मेवारीबोध गरी संघर्ष नगर्ने हो भने अफ्ठ्यारो स्थिति आउनसक्ने चेतावनी दिए । 

Advertisement

दाहालले सरकारलाई जनमुखी बनाउने, जनताको आशा अनुसार काम गर्ने चुनौति रहेकाले योजनाहरुको कार्यान्वयन गर्दै जानुपर्ने बताए । उनले भने, ‘संविधान सभाबाट भएको घोषणालाई पनि आत्मसाथ गरियो, तर अहिले त्यसलाई विभिन्न तर्क, विर्तक गरेर यसलाई कसरी असफल र उल्ट्याउन सकिन्छ र यसमार्फत सम्पूर्ण परिवर्तनलाई कसरी असफल बनाएर विचलनमा लैजान सकिन्छ ? भन्ने कसरत ठूलै छ । त्यो ठूलै छ । अहिले हामी सरकारको नेतृत्वमा छाँै, मन्त्री छौँ, प्रधानमन्त्री छौँ, त्यसकारण उल्टिँदैन होला जस्तो लाग्न पनि सक्छ, मैले सबै कमरेडहरुलाई बुझिनेगरी भन्न चाहन्छु, यो स्थिति सहज छैन । हामीले बुद्धि नपु¥याउने, जिम्मेवारी बोध नगर्ने हो, संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्छ । त्यसकारण पनि पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाईमा उठाउन जरुरी छ । सरकारलाई जनमुखी बनाउने, जनताको आशा अनुसार काम गर्ने चुनौति छ । त्यसैले योजनावद्ध गर्नेकुरा सोचिएको हो । यसलाई कार्यान्वयन गर्दै जानुपर्छ ।’

प्रधानमन्त्री दाहालले आगामी दिनमा माओवादी केन्द्रले नेताहरुको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने बताए । उनले नेतृत्वलाई दबाब दिएर नेतृत्व पाउने प्रणालीको अन्त्य नगरेसम्म पार्टी बन्न नसक्ने बताए । दाहालले पार्टी जनतामा नजानु भनेको नेताहरुको सहयोगमा नेतृत्व लिने प्रणाली हाबी हुनु रहेको बताए । 
उनले भने, ‘अब नेताहरुको समर्थन लिएर नेताको सहयोगले नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्छ, नेतृत्वलाई प्रेसर गर्ने, त्यसपछि हामी पनि त्यस्तै भइयो । यसले पार्टी बनेन । जनतातिर गएन, पार्टी तल गएन, माथि फर्कियो, यसले पार्टी जनताबाट कट्यो । कार्यकर्ताको मन जित्ने नै नेता हुने प्रणालीतिर जानुपर्छ ।’ 

Advertisement

Advertisement