काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भ्रष्टाचार देशको समस्याको रुपमा रहेको बताएका छन् । आईतवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले देशमा भ्रष्टाचार ठूलो समस्याको रुपमा रहेको बताए ।
विप्लवले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्नेखालको मानक बनेको बताए । उनले पार्टी संवद्ध ट्रेड युनियन वा संगठनका नेताहरु पनि पैसा कमाउने अभिलाषासहित नेतृत्वमा आउन चाहने गरेको बताए । उनले भ्रष्टाचारको छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाने बताउँदै सत्तारुढ र सत्ताबाहिर बसेका सबै नेताहरुलाई अर्ब रुपियाँ भन्दा कमको चार्ज नभएको बताए ।
विप्लवले पार्टीका संगठनहरु भ्रष्टाचारमा लिप्त हुनुमा पार्टीकै दोष भएको बताए । उनले भने, ‘०६४–६५ पछि म के देख्छु भने हरेक संगठनको दृष्टिकोण भनेको आर्थिकमा गएर जोडियो । विद्यार्थी संगठनको नेता अध्यक्ष बन्ने भनेको काठमाडौंमा घर हाल्न पाउने हो भनेको जस्तो बन्न गयो । जो अहिले भर्खर लोकसेवाबाट कुनै अफिसरमा नाम निकाल्यो भने पनि उसले भर्खर काठमाडौंमा घरको सपना देख्दैन । भविष्यमा चाहीँ देख्छ । तर अहिले नेपालका प्रायःजसो ट्रेड युनियनहरु या संगठनहरु के छन् भन्दाखेरी नेता बन्नु भनेको पैसा कमाउनु हो भन्ने टाइपको बन्यो । त्यो विद्यार्थीहरुको दोष होइन पार्टीको दोष हो । विद्यार्थीहरुले त सिक्ने हो । नकारात्मक पनि सिक्ने हो । सकारात्मक पनि सिक्ने हो । सकारात्मक सिकेर बलिदानीतिर गएको भए त्यसरी नै विद्यार्थीहरु तयार हुन्थे ।’
विप्लवले थपे, ‘मैले आरोप लगाएको होइन नेपालका मान्छेहरु यदी छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाँदैनन् ? सबै जान्छन् नि पालोपालो । उसले उसलाई लगाउछ, उसले उसलाई लगाउँछ उहाँहरुको कुरा हो । तर सबैलाई अर्ब भन्दा कमको चार्ज छैन नि । अहिले सरकारमा भएका हुन् या बाहिर बसेका हुन् । त्यो साँचो कुरा हो । नेपालको समस्या भनेको भ्रष्टाचारकै समस्या हो । भ्रष्टाचारको समस्या भनेको राजनीतिक परिवर्तन भएन भन्ने हो । खोइ त परिवर्तन ? यथार्थ राजनीतिक परिवर्तन भनेको त आर्थिक परिवर्तन हो । मन्त्री हुने, सांसद हुने त्यहाँ मात्रै झुत्ति खेलिरहेको छ मान्छेले । त्यो परिवर्तन नै होइन । नेपालको जनतालाई चाहिएको परिवर्तन त आर्थिक जिवन पद्धतीमा हो नि । त्यसलाई पुरानै ठाउँमा झन भ्रष्टिकरण गर्ने । अनि राज्यमा ठूल्ठूला डंका पिटेर के काम छ त ? औचित्य छैन । राजनीतिक क्षेत्रमा भ्रष्टिकरण सुरु भएपछि त्यसले सबैतिर हानेको छ । अहिले विद्यार्थी संगठनमा पनि त्यो पसेको साँचो हो । कुनै पार्टीको अध्यक्ष निस्किएर आफ्नो विद्यार्थीलाई भन्न सक्छ तिमी भ्रष्टाचार नगर भनेर ? कहीँ प्रशिक्षण सुन्नुभएको छ तपाईहरुले कुनै नेताले दिएको छ भ्रष्टाचार नगर भनेर अहिले ? कसैले दिन सक्दैन । बरु अर्कोलाई आरोप लगाएर आफु फुत्किने दाउ मात्रै खोज्छ । यो नेपालको राजनीतिक आन्दोलनको सबभन्दा बिडम्बना हो ।’
महासचिव विप्लवले राजनीतिक क्षेत्रमा भ्रष्टिकरण हुनुले अन्य सबै क्षेत्रमा असर परेको बताए । उनले आफ्नो पार्टी र संगठनहरुमा भ्रष्टाचार नभएको दाबी गरे ।