ललितपुर । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने भएको बताएका छन् । नयाँ शक्तिसँग उपनिर्वाचनमा पूराना दलहरुले लज्जास्पद पराजय भोग्नुपरेको सन्दर्भमा उनले यस्तो खाँचो औंल्याएका हुन् ।
मनमोहन अधिकारीको २४ औं स्मृति दिवसमा पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचार र कामहरुबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने बताए । उनले राष्ट्रिय शक्ति निर्माण गर्दा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताए ।
पोखरेलले वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेको बताए । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता र देश बनाउने नेतृत्व नेकपा एमालेले गरिरहेको उनले बताए । पोखरेलले वर्तमान गठबन्धन सिद्धान्तबिहीन, उद्देश्यबिहीन र लोकतन्त्रको मूल्य मान्यताविपरित रहेको बताए ।
उनले भने, ‘मनमोहन अधिकारीका विचार र कामहरुलाई अघि बढाउन जरुरी छ । आज हामी जुन अवस्था छौँ, एउटा राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता छ । राष्ट्रिय शक्ति निर्माण गरिरहँदा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यकता छ । यो आवश्यकता परिपूर्ति गर्नको लागि मनमोहन अधिकारीका विचारबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने आवश्यकता छ ।’
पोखरेलले थपे, ‘राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेका छन् । एउटाले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको, देश बनाउने, विकास गर्ने कामको नेतृत्व गर्छ, त्यो नेकपा एमाले हो । अर्को भनेको एउटा सिद्धान्तबिहीन, उद्देश्यबिहीन र लोकतन्त्र मूल्य मान्यताविपरित गठबन्धन खडा गरिएको छ । जुन गठबन्धन मुलुकलाई धराशायी बनाउने गलत दिशातर्फ लैजाने काम गरिरहेको छ ।’
उनले वर्तमान गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको र देशलाई गलत दिशातर्फ लगिरहेको उल्लेख गरे ।