नारीहरु अघि बढेको र सार्वजनिक जीवनमा आएको पुरुषहरुलाई सैह्य हुन्नः आरजु राणा

Advertisement

काठमाडौं । नेपाली कांग्रेसकी सांसद एवं सो पार्टीका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले नारीहरु अघि बढेको र सार्वजनिक जीवन आएको देख्न नचाहाने पुरुष प्रवृत्तिले आफ्नो आलोचना गरेको बताएकी छन् । 

आइतबार संसदमा नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर आफ्नो नाम आएपछि उनले आफूले कुनै गल्ती नगरे पनि आलोचना गर्ने काम भएको बताइन् । 

Advertisement

संसद्मै आफ्नो नाम जोडिएर विभिन्न प्रश्नहरू उठेकोमा आपत्ति जनाउँदै राणाले आफूले केही नबिराएकोले नडराउने बताइन् । साँसदले तथ्यमा आधारित भएर कुरा गर्नुपर्छ भन्दै आफू, आफ्नो पति शेरबहादुर देउवासहित सबै सांसदहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरिन् । 

कसको कति सम्पत्ति बढ्यो ? कति घट्यो ? छानबिन गर्नुपर्ने बताउँदै राणाले भनिन्, ‘भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति सिरियस छौँ ? भन्ने मेरो प्रश्न छ । यहाँ म नभएको दिनमा मलाई इङ्गित गरेर अनेक प्रश्नहरू उठेका छन् । एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सैह्य हुँदैन रहेछ । अझै पनि नारीले पुरुषले भनेको ठाउँमा मात्रै बस्नुपर्ने, उनीहरुले भनेको मात्रै बोल्नुपर्ने, अलिकति पब्लिक लाइफमा आयो भने पुरुषहरुलाई असहृय हुने परिस्थिति बनेको छ । यस्तो नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा समेत छ ।’ 

तथ्यभन्दा बाहिर गएर जथाभावी नबोल्न र भाषण नगर्न साँसदहरुलाई उनले चेतावनी पनि दिइन् । आफू र शेरबहादुर देउवाले पटक–पटक सम्पत्ति विवरण बुझाएको र पाँच–छ पटक प्रधानमन्त्री भएका श्रीमान शेरबहादुर देउवा र आफ्नो सम्पत्ति विवरण सरकारसँग सुरक्षित छ भन्दै राणाले थपिन्, ‘म अनुरोध गर्न चाहान्छु, हामी जत्ति जना सांसद छौँ, सबैको सम्पत्ति विवरण वेभसाइटमा राखियोस् । सार्वजनिक गरियोस् । हामी कहिले कुन अवस्थामा थियौँ ? कसको कति सम्पत्ति थियो ? कसको बढ्यो ? कसको घट्यो ? के श्रोत हो ? सबैको छानविन होस् ।’

कुरा ठूलठूला गर्ने, भाषण जे पनि गर्ने ? भन्दै उनले तथ्यमा आधारित हुनुपर्छ कि पर्दैन ? भन्दै प्रश्न गरिन् । 

Advertisement

Advertisement