दलका नेतृत्वहरु भेट गर्दैमा नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन प्रभावित नहोस्ः थापा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नक्कली भूटानी शरणार्थी प्रकरणको छानविनलाई कुनै पनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताएका छन् । 

बुधवारको प्रतिनिधि सभा बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनैपनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताए । थापाले सो प्रकरणमा संलग्न जुनसुकै दलको जुनसुकै ओहोदाको व्यक्ति भए पनि कारबाही हुनुपर्ने बताए । 

Advertisement

उनले बजारको हल्लाले पनि अनुसन्धान प्रभावित हुनुनहुने उल्लेख गरे । थापाले अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा हुनुपर्ने भन्दै सरकारले यो प्रकरणमा दह्रो खुट्टा टेके मात्र सरकारले सुशासनको नारा लगाउनसक्ने बताए । 

उनले भने, ‘नक्कली भूटानी शरणार्थी प्रकरण यस्तो बेलामा आएको छ कि सरकारले यसलाई कसरी डिल गर्छ ? यसैले बाँकी रहेको कुरा निर्धारण गर्छ । अहिलेसम्म जे भएको छ, म सरकारको प्रशंसा गर्छु । प्रधानमन्त्री, गृहमन्त्रीलाई यो सन्दर्भमा मेरो तर्फबाट हार्दिक बधाई छ । यसमा हामी सबैको एउटै आवाज छ, संलग्न जोसुकै होस्, जुनसुकै दलको होस्, जुनसुकै तहको होस्, ओहोदाको होस्, कारबाहीको दायरामा ऊ आउनैपर्छ ।’ 

थापाले थपे, ‘बजारको हल्लाले अनुसन्धान प्रभावित नहोस् । तर कुनै भेटघाटले पनि प्रभावित नहोस् । कुनै दबाबले प्रभावित नहोस् । कुनै प्रभावले कहींबाट प्रभावित नहोस् । मेरो आग्रह छ, अनुसन्धान फ्रि र फेयर होस् । निर्दोष कोही पनि नपरोस् । तर दोषी छ भने नेता होस् कि, नाता होस् । एउटा पनि नछुटोस् । यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने योभन्दा अगाडी उसले सुशासनको नारा लगाउन सक्छ । तपाईंको फिल्म चल्छ । हाउसफुल हुन्छ । नभए हल खाली हुन्छ । सबैले हेरेको छ । यहाँ अनुसन्धान गरे भनेर मात्र हुँदैन अब । विश्वास लाग्नुपर्छ । नागरिकलाई फ्रि र फेयर भयो भन्ने विश्वास लाग्नुपर्छ ।’
 

Advertisement

Advertisement