काठमाडौं । गत जेठ २२ गते एक अनलाइन पोर्टलमा प्रकाशित समाचार गलत रहेको भन्दै नेपाल टेलिकमले विज्ञप्ती जारी गरेको छ । टेलिकमले आफ्नो सेवाको सुरक्षाप्रति शंका व्यक्त गर्दै प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण गरेको हो ।
टेलिकमले ग्राहकको गोपनियतालाई सधै सम्मान गर्ने र यसको सुरक्षा, गोपनियतामा एकरत्ति पनि सम्झौता हुन नदिने भन्दै सबै ग्राहकहरु विश्वस्त रहन अनुरोध गरेको छ ।
राज्यका अधिकार प्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन अनुसार अदालतको आदेशपछि मात्र काम कारबाही हुने टेलिकमले जनाएको छ । कम्पनीका सेवाहरु अत्यन्त भरपर्दा र सुरक्षित बनाई ग्राहकवर्गको गोप्यता कायम गर्न आफूहरु अत्यन्त संवेदनशील रहेको र आफनो सेवा निर्धक्क भएर प्रयोग गर्न नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
साथै, पछिल्लो समय आफ्ना सेवा र सेवाको प्रयोगकर्ताहरु समेत बढेको नेपाल टेलिकमले जनाएको छ ।