निजामती कर्मचारीलाई राजनीति गर्न उकास्दै केपी ओली

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले निजामती कर्मचारीलाई राजनीति गर्न उकास्ने काम गरेका छन् । सरकारी कर्मचारीलाई राजनीतिबाट मुक्त गर्नुपर्ने र ट्रेड युनियन खारेज गर्नुपर्ने आवाज उठिरहेको बेला ओली आफ्नो पार्टीनिकट निजामती कर्मचारीको कार्यक्रममा गएर उनीहरुलाई राजनीति गर्न उक्साउने काम गरेका हुन् । 

ओली यसअघि पनि पटक पटक एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको कार्यक्रममा गएर भाषण गर्दै आएका छन् । आज उक्त संगठनको महिला भेला थियो । यस्ता संगठनहरु पेशागत अधिकारको कुरा गर्नेभन्दा पनि दलाली गर्ने, पैसा कमाउने, राजनीतिक उद्देश्यका लागि प्रयोग हुने, स्वतन्त्र र इमान्दार कर्मचारीलाई पनि काम गर्न नदिने अस्त्रको रुपमा प्रयोग गर्दै आएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले भने यस्तो निजामती कर्मचारी संगठन नबनाउने घोषणा गरेका छन् । 

Advertisement

आजको कार्यक्रममा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुईक्क पनि बोल्न नसकेको बताए । भारतसँग आफ्नो देशको पिरमर्का समेत प्रधानमन्त्री दाहालले राख्न नसकेको भन्दै उनले वर्तमान सरकारलाई नालायकको संज्ञा दिए । 

ओलीले यो देशकै लागि दूर्भाग्य भएको बताए । उनले देशको दुर्दिन सुरु हुनु युक्रेन वारको कारणले हो ? भनि सरकारमाथि कटाक्ष समेत गरे । दाहालले फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण कार्य भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको बताए । वर्तमान सरकारसँग विकासको कुनै पनि योजना नभएको जिकीर गर्दै ओलीले यस्तो सरकार भनेपछि मुलुकमा ग्रहण लाग्नु स्वभाविक भएको बताए । 

उनले वर्तमान सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई विरोध गरेपनि कमजोर बनाउन नसक्ने दावी गर्दै मुलुकको सुन्दर भविष्यका लागि पनि एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने बताए । ओलीले भने, ‘देशलाई नै ग्रहण लागेको जस्तो भएको छ । यी दुई वर्षमा ८ प्रतिशत पु¥याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था छ । भनेको प्रतिवद्धता, यी कमिटमेन्ट, योजना केही पनि २५ प्रतिशत पनि मिलेन । देश त्यति नराम्ररी देश पछाडि परेको छ । सरदर ६ दशमलव ५ पुगीसकेको उत्पादन वृद्धिदर हामीले त ७ दशमलव १ प्रतिशत पु¥याएका थियौं । सरदर नै भन्ने हो भने पनि हामीले ६ दशमलव १ प्रतिशत उत्पादन वृद्धि पुर्याएका थियौं । त्यो घटेर २ भन्दा तल आईसक्यो । अहिले कोभिडसोभिडको मारले यस्तो भएको होइन । अनि युक्रेनको वार भनेर एउटा हल्ला चलाउने गरिएको छ । युक्रेनको वारले हामीलाई धुवा उडाएको कि, धुलो उडाएको कि, के गर्या छ ? युक्रेनको वारले हो ?’ 

उनले थपे, ‘अस्ती हाम्रा नदीहरु प्रचण्डजीले सित्तैमा दिएर आएको ? आफ्नो भूमिको बारेमा चुइक्क बोल्न नसकेको युक्रेनको वारले हो ? १५ वटा रागा ल्याए भनेर । त्यही पनि रागा लिएर आउने भनेर जिस्क्याए रे । यो त केपी ओलीकै पालोदेखि कुरा चलेको रहेछ भनेर भनियो । उहाँहरुले त कुनै कुरै चलाउन सक्नुहुन्न । सबै कुरा त्यहाँ संयुक्त चेकजाँच पोष्टको कुरा गर्नु भएको छ । त्यो मेरै पालामा हो । भैरहवा बनिसकेको छ । वीरगंज बनिसकेको छ । विराटनगर बनिसकेको छ । अरु ठाउँमा नयाँ बन्दै जाने कुरा हो । त्यो पहिले नै तयार छ । जमिन हामीले तयार गरेका छौं । बजेट छुट्टयाइएको छ । योजनामा पहिलेदेखि नै पारिएको छ । यो त नयाँ कुरै होइन । अनि के गरेर आउनु भयो त ? दुईटा नदी तल्लो अरुण भनेर कौडीको मोलमा दिनु भएको छ । मैले २०७६ सालमा फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ । कुँदिरहेको नदीमै बाँध नबाँधिकन ४८० मेघावाट कुदेको नदीबाट विद्युत निकाल्न सकिन्छ । त्यति सस्तो आयोजना, यो नेपाल आफैले बनाउँछ मैले निर्णय गरेको थिए । यो त अहिले ते किस्तीमा राखेर उतै सुम्पिने कुरा भयो ।’ 

ओलीले कर्मचारीहरुलाई मुस्कानसहितको जनसेवाका काममा जुटन पनि पटकपटक आग्रह गरे । उनले जनसेवाको काममा लागेर मात्रै देशलाई अघि बढाउन सकिने पनि स्मरण गरे ।

Advertisement