काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता छोड्ने संकेत गरेका छन् । आफ्नो पार्टी माओवादी केन्द्रनिकट पत्रकारहरुसँगको कुराकानीमा बुधबार उनले भ्रष्टाचारविरुद्ध लड्दालड्दै सरकार छाड्न परे पनि छाड्न तयार रहेको बताए ।
सशस्त्र द्धन्द्ध कालमा बाल सैन्य प्रयोग गरेको भन्दै पीडितहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि नैतिक संकटमा रहेका प्रधानमन्त्री दाहालले भ्रष्टाचारसँग जोडेर आफू सत्ता छाड्न तयार रहेको बताएका हुन् ।
भ्रष्टाचार र बेथितिविरुद्ध सम्झौता गर्नुपरे सरकार छाड्ने बताउँदै उनले सरकार आफ्ना लागि ठूलो कुरा नभएको बताए । सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिको रहस्यमय सिंगापुर भ्रमणपछि नेपालको राजनीतिमा फेरबदल आउने आशंका गरिएको छ । सोही सन्दर्भमा दाहालले पनि आफू सत्ताबाट बाहिरिन बाध्य हुनुपर्ने संकेत पाएको हुनसक्ने आजको अभिव्यक्तिबाट देखिन्छ ।
आज बिहान बालुवाटारस्थित निवासमा भएको भेटमा र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान आयोजित अर्को एक कार्यक्रमहरुमा उनले सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढ्ने बताए । दाहालले भने, ‘कतिपयले आशंका गरेको देख्छु– सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि ? भन्ने । तर, प्रष्ट रूपमा भन्छु– सरकार मेरा लागि ठूलो कुरा होइन । ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो । भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहिँ सम्झौता हुँदैन, झुकिँदैन ।’
उनले भ्रष्टाचारविरुद्ध लड्दालड्दै सरकार छाड्न परे पनि परोस् भनेर सोचिएको बताए । दाहालले भने, ‘भ्रष्टाचार र बेथितीविरुद्ध लड्दा लड्दै बरु सरकार गए जान्छ भन्ने सोचिएको छ के । यो विषयमा गलत सम्झौता गर्नुभन्दा बरु सरकार छोड्नु र जनतामा जानु बढी लाभदायक छ भन्ने मेरो बुझाइमा ।’
दाहाल यसअघि नै सत्ताबाट बाहिरिनसक्ने अनुमान गरिएको बेला नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएका नेपाली कांग्रेस र नेकपा एमालेनिकट प्रभावशाली नेताहरुलाई एकाएक पक्राउ गरेपछि उनको सत्ता लम्बिएको थियो । उक्त प्रकरणमा कांग्रेस र एमालेका शीर्ष नेतृत्व र ठूला प्रशासकहरुसमेत संलग्न रहेको देखिए पनि उनीहरुलाई भने कारवाही गर्ने आँट दाहालले गर्न सकेका छैनन् ।
यदि सत्ताबाट बाहिरिनुपर्ने नै अवस्था आयो भने उनीहरुलाई समेत तान्न पछि नपर्ने संकेत दाहालले दिएका छन् । त्योभन्दा अगाडि नै युद्ध अपराधसम्वन्धी मुद्दामा सर्वोच्चले उनलाई पदच्युत गरिदिनसक्ने अनुमान पनि गरिएको छ । दाहालले आजको भेटमा एकथरीले भ्रष्टाचारविरुद्ध लड्ने हामी हौं भनेर जनतामा भ्रम सिर्जना गर्न खोजेको र असली राष्ट्रवादी म हुँ भनेर प्रचार गर्न खोजेको भन्दै भने, ‘राष्ट्रवादको कुरा गर्ने हो भने अहिलेको भारत भ्रमण जतिको राष्ट्रवाद केही पनि होइन ।’
घेराबन्दी र अप्ठ्यारो परिस्थितिका बीच सरकारले राम्रा काम गरेको उनको जिकिर छ । दाहालले त्यसको प्रचार भने कम भएको तर्क गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारविरुद्ध चालेको कदम र आफ्नो भारत भ्रमणको क्रममा भएका सहमति–सम्झौता ऐतिहासिक भएको पनि दाहालले बताए ।
उनले भने, ‘राम्रो काम गरेर मात्र पुग्दैन । राम्रो कामलाई यो राम्रो हो भनेर जनतालाई बुझाउने कुरा र भ्रमलाई चिर्ने कुरा धेरै महत्वपूर्ण हुन्छ । राम्रो गर्ने र राम्रोको विरोध गर्नेहरुको सशक्त प्रतिवाद गरेर मात्रै आन्दोलनलाई, जनतालाई र राष्ट्रलाई राम्रो गर्न सकिन्छ भन्ने नै मुख्य कुरा हो ।’