काठमाडौं । दुई अर्ब रुपियाँ लगानी गरी दुई बर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ सुरु भएको जयधरान केवलकार सञ्चालकहरुबीचको विवाद, लगानी र व्यवसायिक योजनाको अभावका कारण अलपत्र परेको छ ।
सुनसरीको धरानस्थित यस आयोजना बनाउन अघि सरेका चार जना सञ्चालकहरुबीच अविश्वास, आशंका र आरोपप्रत्यारोपका कारण लामो समयदेखि आयोजना अलपत्र परेको हो । आयोजनाको मुख्य लगानीकर्ता देवेन्द्रकुमार गुप्ता हुन् । बाँकी तीन जना साझेदारले छोडेपछि गुप्ता अहिले कम्पनीमा एक्लै छन् ।
उनकै बदमासी र अयोग्यताका आयोजना अहिलेसम्म आयोजना सुरु हुन नसकेको कम्पनी छोडेका गुप्ताका पूर्वसाझेदारहरुको आरोप छ । धरानबाट नाम्जेसम्म ३.९ किलोमिटर लामो केवलकार सञ्चालन गर्ने योजनाका साथ लाइसेन्स लिइए पनि अहिलेसम्म यो आयोजना अघि बढ्ने लक्षण देखिन्न ।
सुरुमा साझेदारी फर्मको रुपमा स्थापना भएको जयधरान केवलकार पछि प्राइभेट लिमिटेड कम्पनीको रुपमा रुपान्तरण गरिएको थियो । लाइसेन्स लिँदा धरानबाट महाभारत पर्वत पश्चिमतर्फ रुट लिइएकोमा पछि सर्भे नै नगरी पैसा खुवाएर रुट परिवर्तन गर्ने काम भएको गुप्तामाथि आरोप लागेको छ ।
धरान–नाम्जे रुट बनाउने क्रममा उद्योग विभागमा चलखेल गरिएको असन्तुष्ट पक्षको भनाई छ । यो कम्पनीको लाइसेन्स लिँदा नेपालमा एउटा मात्रै केवलकार सेवा ‘मनकामना’ थियो । अहिले यस्ता सेवा दर्जन पुग्न लागिसक्यो । तर जयधरानले केवलकार बनाउन सकेको छैन् । स्रोत भन्छ,‘ काम नगर्ने, समय मात्रै थप्दै जाने, लाइसेन्स मात्रै ओगट्ने गुप्ताको नियतले गर्दा अहिलेसम्म काम हुन सकेन् ।’
स्रोतले थप्यो, ‘सुरुमा कम्पनी दर्ता प्रक्रियादेखि नै गुप्ताले समस्या सिर्जना गर्दै गए । कम्पनीमा हावी रहेका उनले न विधि प्रक्रियाअनुसार नै काम गरे, न ईआईए जस्ता रिपोर्टहरु नै बनाएका छन् । प्रोजेक्ट रिपोर्टको प्रक्रिया पनि पूरा भएको छैन् ।’
भारतीय मुलकी महिलालाई विवाह गरेका र शैक्षिक योग्यता पनि खासै नभएका गुप्ताको अधिकांश व्यापारिक कारोबार नेपालमा भन्दा पनि बढी भारततर्फ हुने गरेको र नेपालमा कमाएको पैसा भारतमा लगेर जम्मा गर्ने गरेको आरोप पनि उनले खेप्दै आएका छन् । गुप्ताले केवलकारको लाइसेन्स आकर्षक मूल्यमा बिक्री गर्ने नियतले आयोजनामा लगानी नगर्ने र होल्ड मात्रै गरेर राख्ने काम गरेका छन् ।
के भन्छन् गुप्ताका पूर्वसाझेदार ?
गुप्ताका पूर्वसाझेदार रामकुमार चापागाईंले गुप्ताको व्यवहारका कारण आफू अलग भएको बताउँछन् । दुई–चार पैसा फाइदा हुन्छ कि ? भनेर आफूहरु केवलकार बनाउने अभियानमा लागे पनि गुप्ताले पेल्न थालेपछि आफूहरु अलग भएको बताए ।
चापागाईंले भने, ‘उसले बढी पेल्न थाल्यो । पैला मलाई मात्रै निकाल्न खाजिएको थियो । मैले ‘तिमीहरु पनि निस्किने हो भने मात्रै म पनि निस्किन्छु । नत्र निस्किन्न’ भनेपछि सबैले छोडे । गुप्ता मात्रै बाँकी रह्यो । जबकी लाइसेन्स नवीकरण नै मैले गराइदिएको हो, अरु कसैले नसकेर । कति दुःखले गराइयो भन्ने त मलाई थाहा छ ।’
गुप्ताले साझेदारहरुलाई अली अली पैसा दिँदै पन्छाउँदै गएको चापागाईंले बताए । अरु साझेदारहरुलाई केही लाख रुपियाँ दिएर पन्छाएर आफूले बिसौं करोड रुपियाँमा लाइसेन्स बिक्री गर्ने योजना बनाएको सुनाउँदै उनले थपे, ‘कति लगाईं झगडा गर्नु त्यो मानिसँग । उसले आयोजना बनाउन सक्ने पनि होइन् । अर्बौं रुपियाँ लगानी जुटाएर आयोजना बनाउनसक्ने मानिस पनि होइन् । पैसा भए पनि बनाउने नियतको मानिस पनि होइन् ।’
चापागाईंले कम्पनीमा रहँदा आफूले काठमाडौंबाट सर्भेका लागि इन्जिनियरहरु पठाइदिए भए पनि वनसम्वन्धी वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम भने गुप्ताले पैसा दिन नमानेका कारण अडकिएर बसेको बताए । ईआईएको प्रतिवेदन बनाउन जिम्मा दिएको मानिसलाई पैसा नदिएकाले प्रतिवेदन बन्न नसकेको उनको भनाई छ । आयोजना बनाउन भनेर केही जग्गा भने खरीद भएको छ ।
सबैले छोडेपछि र आयोजना अलपत्र भएपछि गुप्ता ‘मिल्नुपर्यो’ भनेर पछि आए पनि आफूले अस्वीकार गरेको चापागाईंले बताए । उनले गुनासो थियो, ‘आयोजना बनाउने नै हो भने कार्यालय चाहियो । कर्मचारी चाहियो । प्राविधिक चाहियो । लगानी चाहियो । त्यता ध्यान नदिने । कुनै काम गर्न प्रक्रिया अघि बढायो भने आशंका गर्ने । अविश्वास गर्ने । हामीलाई विश्वास नगरेर आफै छुट्टै कुरा गर्नुपर्ने । अनि कसरी हुन्छ । उसको एक्लो बलबुताले हुने कुरा होइन् यति ठूलो काम । पार लाग्दैन भन्ने लागेर नै हामीले छोडेका हौं । पैसा भएर पनि आफूसँग व्यवसायिक ज्ञान, अनुभव, सम्पर्क भएन् भने नेपालमा काम गर्न गाह्रो छ ।’
गुप्ताले लगानी गर्ने विश्वासमा आफूहरुले पनि लगानी गर्ने र आयोजनालाई अघि बढाउन भूमिका खेले पनि गुप्ताको कार्यशैली र नियत ठिक नहुँदा आयोजना अलपत्र परेको चापागाईंले बताए ।
यस्तो छ गुप्ताको तर्कः
देवेन्द्रकुमार गुप्ताले भने केवलकार बनाउने क्रममा आफ्नो अहिलेसम्म २५ करोड रुपियाँ जति खर्च भइसकेको र कम्पनीमा सम्पूर्ण लगानी आफ्नो मात्रै रहेको बताए । कम्पनी छोडेका साझेदारहरुको कुनै लगानी नरहेको र आयोजना बनाउन सकियोस भनेर उनीहरुलाई लिए पनि विवाद भएर छोड्ने क्रममा आफूले माटो रकम दिएर विदाई गरेको बताए ।
किन अहिलेसम्म आयोजाना नबनाएको ? भन्ने प्रश्नमा गुप्ताले अहिले आफूसँग पैसा नभएको जवाफ दिए । आफू उपयुक्त लगानीकर्ताको खोजीमा रहेको र यसै क्रममा नेपाल उद्योग बाणिज्इ महासंघका अध्यक्षसमेत रहेका केवलकार व्यवसायी चन्द्र ढकालसँग पनि कुरा गरेको बताए । त्यस क्रममा ढकालले ‘आफूले अहिलेसम्म वनको पैसा तिरे पनि जग्गा भने सरकारसँग निःशुल्क लिँदै आएको’ बताएको सुनाए ।
केवलकार सञ्चालनका लागि आवश्यक तल माथि जग्गा आफूले किनिसकेको गुप्ताको भनाई छ । उनले पूर्वसाझेदारहरुलाई लगानी गर्न आग्रह गर्दा कसैले नगरेको र उल्टै कमिशन खाइदिएको गुनासो गरे ।