सरकारले उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेविरुद्ध लगाइएको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्नुपर्छः योगेश भट्टराई
काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेविरुद्ध लगाइएको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।
संसदमा बुधबार बोल्दै उनले उपप्राध्यापक चलाउनेविरुद्ध ज्यान गर्ने उद्योग अन्तरगतको मुद्दा काँग्रेस निकट विद्यार्थी संगठनमा आवद्ध नविसंघका विद्यार्थीहरुले खेपिरहेका थिए भन्दै सो मुद्दा फिर्ता गर्ने निर्णय गरेर सरकारले दण्डहिनता निम्त्याएको बताए ।
भट्टराईले ‘सदाचारको पक्षमा सधैं उभिने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो मुद्दा फिर्ता लिने निर्णयमा कसरी हस्ताक्षर गर्न सक्नुभयो ?’ भनी प्रश्न समेत गरे । उनले देश बनाउने जिम्मेवारी पाएको काँग्रेस र एमाले जस्ता ठूलो पार्टीका प्रतिनिधिहरुले नै मुलुकमा दण्डहिनताको स्थिति सिर्जना गर्ने काम गर्न नहुने बताए ।
भट्टराईले भने, ‘प्लिज, तपाईले यो निर्णय फिर्ता लिनुस् । र, तपाईंले आफ्नो पुरानो प्रतिवद्धता, मान्यता हो । त्यसमा उभिनुस । त्यसले नै हामी जुन पार्टीलाई प्रतिनिधित्व गरिरहेका छौं नेपाली काँग्रेस, नेकपा एमाले । यस्ता ठूला राजनीतिक दलहरुले नै यस्ता बेथितिहरुको, दण्डहिनताको स्थिति तपाई–हामीले नै सृजना गर्ने हो भने यो देश कसले बनाउँछ ? यदि तपाईं–हामी नै त्यो गर्ने हो भने यो देश कसले बनाउँछ । यो देश कर्ता जाँदैछ ? यो व्यवस्था, यो संविधान हामीलाई समर्थन गरेर आम जनताले दिएको त्यो अपार विश्वास, हिजोको लोकतान्त्रिक आन्दोलनहरुको दिएको साथहोस् । यदि हामीले त्यसमाथि खेलबाड गर्छौैैैैैै भने यो देश वास्तवमा गलत दिशातिर जान्छ । त्यसकारण आज म पहिलो त्यो कुरा राख्न चाहन्छु ।’
सचिव भट्टराईले जनताको विश्वासमाथि खेलबाड गर्ने छुट सरकारलाई नभएको पनि बताए ।