सत्ता सम्हालेपछिको छ महिने प्रगति विवरण सार्वजनिक गर्दै प्रम दाहाल, विवरण तयार पारिँदै

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता सम्हालेपछिको छ महिने कार्यप्रगति सार्वजनिक गर्ने भएका छन् । उनले अर्थतन्त्र सुधारको तथ्यांक प्रस्तुत गर्दै प्रगति विवरण तयार गर्न लागेका छन् ।

अहिले मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयले कार्यप्रगति विवरण तयार पार्न सबै मन्त्रालय र सरकारी निकायहरुसँग विवरण मागेर सूची तयार गर्ने काम भइरहेको कार्यालय स्रोतले जानकारी दियो । 

Advertisement

प्रधानमन्त्री दाहालले प्रगति विवरणमा अर्थतन्त्र सुधारको तथ्यांकहरुलाई ‘फोकस’ गर्न निर्देशन दिएका छन् । प्रगति विवरण तयार टोलीका एक सदस्य समेत रहेका उनले भने ‘प्रधानमन्त्रीज्यूले अर्थतन्त्र सुधारमा विशेष चासो दिनुभएको छ । अर्थतन्त्रको केही सूचकहरुको विश्लेषण गर्दा सुधारको संकेत पनि देखिन थालेको छ ।’

ती सदस्यका अनुसार सबै मन्त्रालयहरुको राम्रा कामलाई प्राथमिकता दिएर विवरण तयारी गर्ने काम भइरहेको भन्दै संभवतः सोमबार यो विवरण सार्वजनिक हुने बताए । दाहाल पुस ११ गते तेस्रो पटक प्रधानमन्त्रीमा चुनिएका थिए । असार ११ गते उनको ६ महिना पूरा हुँदैछ । 

प्रगति विवरणको ‘हाइलाइट’मा अर्थतन्त्र सुधारका लागि भएका प्रयासका क्रममा प्रगति भएको, सबैभन्दा राम्रो पक्ष बाह्य क्षेत्रमा सुधार देखिएको, रोजगारीका लागि विदेशिएकाहरुले पैसा धेरै पठाउँदा विदेशी मुद्राको सञ्चितिमा सुधार आउन थालेको कुराहरु आउने छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैशाखसम्ममा ११ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति छ । जेठ महिनामा यस्तो संचिति अझै बढेको तथ्यांक छ । अब आयातमा कडाई कम गर्दै जाँदा पनि हुने अवस्था आएको सरकारी पक्षले महशुस गर्न थालेको छ । 

यसैगरी, बैंक तथा वित्तीय क्षेत्रमा तरलता विस्तारै बढ्दै गएको छ । शेयर बजारमा पनि लगानीकर्ताहरुको आकर्षण बढ्न थालेको छ । दैनिक एक अर्ब पनि नपुग्ने शेयर कारोबार अहिले पाँच अर्ब रुपियाँसम्म पुग्न थालेको छ । चालु वर्षको सुरुवातदेखि नै आर्थिक मन्दी सुरु हुँदा बजार माग ह्वात्तै घटेर उत्पादन र आर्थिक गतिविधिमा समेत गिरावट आएको थियो । यसमा त्यति धेरै सुधार नआए पनि बजारमा अब विस्तारै माग बढ्ने प्रधानमन्त्री कार्यालयको आशा छ । 

छ महिनाको प्रगति विवरणमा सरकारले नक्कली भुटानी शरणार्थीको नाममा भएको ठगीको अनुसन्धान र संलग्नहरुलाई पक्राउ गरी कारवाही अघि बढाइएको विषयलाई पनि उपलब्धीको रुपमा ‘हाइलाइट’ गर्न लागिएको छ । यो प्रकरणमा बहालवाला सचिव, पूर्वगृहमन्त्रीहरु समेत पक्राउ गरेका छन् । यद्यपि यस प्रकरणमा ठूला नेता र प्रशासकहरु समेत संलग्न रहेको तथ्यहरु समेत बाहिर आएकाले उनीहरुलाई समेत पक्राउ गरी कारवाही गरिनुपर्ने जनस्तरबाट माग हुँदै आएको छ । 

यो बीचमा प्रधानमन्त्रीले आफूले गरेको भारत भ्रमण र त्यस क्रममा भएका सम्झौताहरुलाई पनि महत्वपूर्ण प्रगतिको रुपमा प्रस्तुत गर्न लागेको कार्यालय स्रोतले जनाएको छ । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दश बर्षमा दश हजार मेगावट बिजुली खरिद गर्ने प्रतिवद्धता जनाएका थिए । 


प्रधानमन्त्रीले प्रगति विवरणमा अर्थतन्त्रको सकारात्मक पक्षहरु उजागर गर्न खोजे पनि अर्थतन्त्रको स्थिति भने कठिन अवस्थामै छ । सरकारको खर्चको तुलनामा आम्दानी तीन खर्ब १० अर्ब रुपियाँले कम भइसकेको छ । बैंकहरुमा तरलता प्रवाह बढोत्तरी भए पनि आर्थिक मन्दी र आर्थिक गतिविधिमा आएको शिथिलताले ऋण प्रवाह बढ्न सकेको छैन् । बरु सरकारले लिने आन्तरिक ऋणमै बैंकहरुले ध्यान दिइरहेका छन् ।

दाहाल नेतृत्वको गठवन्धन सरकारले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सकेको छैन् । राजनीतिक तह, कर्मचारीतन्त्र, न्यायालयमा भ्रष्टाचार व्याप्त छ । सरकारप्रति जनताको असन्तुष्टि र आक्रोस बढ्दै गएको छ । 

Advertisement

Advertisement