रविको पार्टीतर्फ संकेत गर्दै ओलीले भने– विना विचार पार्टी आए, हाम्रो योगदान मतलब गरिएन

Advertisement

काठमाडौं । नेकपा एमालका अध्यक्ष केपी ओलीले विचार बिनाका पार्टीहरुको लहर चलेको बताएका छन् । 

मदन भण्डारीको जन्मजयन्तीको कार्यक्रममा बिहीबार उनले राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भए पनि अहिले विचार नचाहिने पार्टीहरुको लहर चलेको बताए । 

Advertisement

विचार बिनाको विचार बोकेर आयौँ भन्ने पार्टीहरुको लहर चलेको बताउँदै ओलीले राजनीतिक दल र नेताहरुले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको बताए । उनले आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटीको अन्त्य हुँदै गएको उनको गुनासो छ । 

नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै ओलीले आफूहरुको योगदानको अबमूल्यन भएको संकेत गरे । उनले भने, ‘राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन् । अहिले एउटा लहर चलेको छ । विचार नचाहिने, बिना विचार विचार लिएर हामी आयौँ भन्ने लहर चलेको छ ।’ 

ओलीले थपे, ‘योगदान सम्झिनु जरुरी छैन् । योगदान बिर्सिए हुन्छ । योगदानको के मतलव छ र ? कसलाई फुर्सद छ योगदानका कुरा गर्ने ? कसलाई फुर्सद छ हाम्रा पूर्वजका योगदान सम्झिने । कसलाई फुर्सद छ आफ्ना आमाबाबुको योगदानको चर्चा गर्ने ? महिमा गाउने वा आमाबुबाप्रति कृतज्ञ हुने ? भन्ने खालका विचाहरु पनि आज सुनिन्छन् । तर हामी बिना इतिहास समाज यहाँ आएको छैन् । धेरै उत्तारचढावबाट यो समाज यहाँसम्म आइपुगेको हो । आज पनि समाज अनेकप्रकारका रस्साकस्सीका बीचबाट अघि बढेको छ । यस रस्साकस्सीको बीचबाट समाज कसरी अघि बढाउने भन्ने सन्दर्भमा जानपर्ने छ ।’ 

Advertisement

Advertisement