प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई सत्ता गठवन्धनको संरक्षण, राजीनामा दिनुनपर्ने

Advertisement

काठमाडौं । सत्ताधारी गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहालको विवादास्पद अभिव्यक्तिलाई संरक्षण गरेको छ । दाहालको भनाईको संसददेखि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको बेला सत्ताधारी दलहरुको बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले संरक्षण गरेको हो । 

नेपालको प्रधानमन्त्री नयाँ दिल्लीबाट बन्ने आशयको अभिव्यक्ति दाहालले दिएपछि बुधबार संसदमा विपक्षी दलहरुले विरोध गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा नदिएसम्म संसद अवरोध कायमै रहने र आवश्यक परे सडक आन्दोलन पनि गर्ने बताएको छ । 

Advertisement

तर राजीनामा माग्ने एमालेको कदम असंसदीय रहेको सत्तारुढ गठवन्धनले निष्कर्ष निकालेको छ । एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने र संसदको फेस गर्ने निर्णय गरेको बैठकमा सहभागी नेताहरुले बताएका छन् । 

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेका अनुसार प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने एमालेले गरेको निर्णय असंसदीय निर्णय हो । संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोलेको कुरामा कसैलाई आपत्ति छ भने संसदमा आवाज उठाउन पाउँछ ।

सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा दाहालले भनेका थिए, ‘उहाँ (प्रितम सिंह) राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचाटी दिल्ली पनि जानुभयो । काठमाडौंमा पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो ।’

आजको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायत थिए । 

Advertisement

Advertisement