बेकारको विषयमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्नः मन्त्री शर्मा, अन्यथा नबोलेको तर्क

Advertisement

काठमाडौं । पुस्तक विमोचन कार्यक्रममा दिएको संवेदनशील अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने सरकारकी प्रवक्ता तथा सुचना तथा सञ्चारमन्त्रीले स्पष्ट पारेकी छन् । 

बिहीवार मन्त्रिपरिषद्का निर्णय सुनाइसकेपछि मन्त्री रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने तर्क गरिन् । प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको उनको भनाई छ । शर्माले सो विषय बेकारको विषय भएकाले संसदमा उठाउनुपर्ने आवश्यकता नै नरहेको बताइन् । 

Advertisement

उनले प्रतिपक्षी दलका कारण सरकारले मिटरब्याजीबिरुद्धको विधेयक संसदबाट पास गर्न नपाएको आरोपसमेत लगाइन् । शर्माले भनिन्, ‘विपक्षीहरुले खास गरेर प्रधानमन्त्रीज्युले एउटा पुस्तक विमोचनमा बोल्नुभएको कुरालाई आधार बनाएर संसदभित्र जुन राजीनामाको माग गरी संसद अवरुद्ध गर्नुभएको छ र संसद अवरुद्ध गरिरहँदा जुन हामीले ल्याएको अध्यादेश थियो, जुन मिटरब्याज सम्बन्धी त्यसको हिजो अन्तिम दिन थियो, त्यो निष्क्रिय हुन पुगेको छ ।’ 

उनले थपिन्, ‘प्रधानमन्त्रीले राजीनामा दिने कि नदिने भन्ने विषय हो, यो विषय नै त्यस्तो होइन कि राजीनामा दिनुपर्ने । एउटा कार्यक्रममा गएर बोलेको विषयलाई आधार बनाएर प्रधानमन्त्रीज्युले अन्यथा बोलेको हामीलाई लाग्दैन । प्रधानमन्त्रीज्युले विभिन्न ढंगले प्रधानमन्त्री बनाउन लाग्नुभएको भन्नेकुरा धेरै पहिलाको कुरा हो, त्यसका विषयमा उहाँलाई उल्लेख गर्नुभएको हो । जो व्यक्ति आजका दिनसम्म आइपुग्दासम्म जसरी मिडियामा बोलिसक्नुभएको छ, त्यो विषय पनि बेकार यो उठाउनुपर्ने विषय होइन, भन्ने नै प्रमाणित भएको, त्यसैले यो विषयले प्रधानमन्त्रीको राजीनामा सोच्न सकिने विषय होइन । राजीनामा दिनुहुन्न ।’

मन्त्री शर्माले यस्ता विषयमा प्रधानमन्त्रीको राजीनामा सोच्न नसकिने बताइन् । 

Advertisement

Advertisement