नैतिकता छ भने प्रधानमन्त्रीज्यू, राजीनामा दिनुस्ः राजेन्द्र लिङदेन

Advertisement

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालमा नैतिकताका आधारमा राजीनामा दिन सल्लाह दिएका छन् । 

भारतीय व्यापारी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक नयाँ दिल्ली पुगेको सार्वजनिक अभिव्यक्ति दिएपछि गम्भीर विवादमा फँसेका दाहाललाई लिङदेनले सोमबार संसदमा राजीनामा दिन सल्लाह दिएका हुन् । 

Advertisement

उनले भने, ‘बहालावाला प्रधानमन्त्रीले कुनै व्यक्तिलाई देखाएर पटक पटक दिल्ली जानु भएको थियो भन्नु आपत्तिजनक विषय हो । यो सामान्य कुरा होइन् । नैतिकता भन्ने चिज जिवित छ भने प्रधानमन्त्रीले  दिनुपर्छ । राजीनामा दबाबले मागिने कुरा होइन् ।’

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियतासँग जोडिएको विषय भएको बताउँदै लिङदेनले यो सामान्य विषय नभएको बताए । उनले वर्तमान संसदमा केही राजनीतिक दल मात्रै नभएर थुप्रै दलहरु रहेको बताउँदै यसअघिको बैठकमा आफूहरुलाई बोल्न नदिने सभामुखाको निर्णयको आलोचना गरे । 

नेता लिङदेनले भने, ‘हामीले प्रधानमन्त्रीले एउटा पुस्तक विमोचनमा जे कुरा बोल्नु भएको थियो, प्रतिपक्षमा रहेका राजनीतिक दलहरु सामूहिक रुपमा त्यसको प्रतिवाद गरेका थियौं । र, त्यसको स्पष्टीकरण माग गर्न चाहेका थियौं । र, यो नैतिकतासँग जोडिएको विषय हो । प्रधानमन्त्रीसँग यो नैतिकता भन्ने चिज छ भने राजीनामा दिनुपर्छ भनेर भन्न चाहेका थियौं । तर सभामुखबाट हामीलाई विचार राख्ने मौका किन प्राप्त भएन त्यो दिन ? पद्दती मिचेर किन सत्तापक्षतर्फ बोल्ने क्रम घुमाईयो ? त्यसप्रति म दुःख व्यक्त गर्न चाहन्छु ।’ 

उनले थपे, ‘प्रधानमन्त्रीले कुनै बेला नेपालमा फलाना, फलाना पार्टी मिलेर सरकार बनायो भने छिमेकीहरुका लागि कम्र्फटेवल हुन्छ भनेर भन्नु भएको थियो । त्यतिखेर सत्ता बाहिर हुनुहुन्थ्यो । हामी राजनीतिक टिप्पणीबाहेक अरु भन्ने अवस्था थिएन । बाबुराम भट्टराईले सरकारबाट निस्केर भन्नु भयो, चावी त अर्कैतिर रहेछ । हामीले नोटिसमा लिने विषय मात्रै थियो । तर अहिले बहालवाला प्रधानमन्त्रीले कुनै एउटा व्यक्तिलाई देखाएर मलाई प्रधानमन्त्री बनाउन उहाँ पटकपटक दिल्ली जानु भएको थियो भनेर भन्नु निःसन्देश आपत्तिजनक विषय हो । यो सामान्य कुरा होइन । र, फेरि पनि भन्छु– नैतिकता भन्ने चीज जिवित छ भने उहाँले राजीनामा दिनुपर्छ । यो दबाबले दिने वा मागिने कुरा होइन ।’

Advertisement

Advertisement