रास्वपाको सदस्य बन्दै आफूलाई भावी मेयर र वडाध्यक्ष घोषणा नगर्न लामिछानेको आग्रह

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपामा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन् । 

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर, वडा अध्यक्षको भावी उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पारे । 

Advertisement

लामिछानेले रास्वपा साधारण समयमा बनेको पार्टी नभएको भन्दै यो पार्टी कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको बताए । उनले मिसन २०८४ सही नेतृत्व छान्न सकेको खण्डमा मात्रै सफल हुने बताए । 

देशमा राम्रा नारा सबैले लगाउने भन्दै नारा राम्रो भएर मात्रै नहुने, पारा राम्रो हुनुपर्ने बताउँदै लामिछानेले भने, ‘म सबैलाई यसै मञ्चबाट देशभरकै रास्वपा समर्थक, रास्वपा प्रेमी र रास्वपामा आवद्ध सबैलाई भन्न चाहन्छु, रास्वपामा सहभागी हुनु भनेको तपाई उम्मेदवार हुनुभएको होइन, उम्मेदवारको छनोट भएको छैन् । कोही पनि अहिले उम्मेदवार होइन् । यो कुरा स्पष्ट हुन जरुरी छ । साथीहरु मै उम्मेदवार हुँ । म मेयरको, वडाध्यक्षको भन्ने सुनेको छु । त्यसका लागि जोडिनुभएको हो भने कति लामो यो यात्रा हुन्छ ? थाहा छैन् । किनभने यो पार्टी साधारण परिस्थितिमा बनेको पार्टी होइन् । कसैलाई पोस्न् । पाल्न बनेको पार्टी होइन् ।’ 

उनले थपे, ‘नेपाली जनताले खोजेको नेतृत्व खोज्नका लागि हो । मिसन ८४ भनेको सही नेतृत्व छान्न सकियो भने मात्रै सम्भव हुने हो । नारा त यो देशमा सबैले लगाउँछन्, नारा ठिक भएर भएन पारा ठिक हुनुपर्छ । पारा ठिक हुनका लागि हामीसँग राम्रा मान्छे जोडिनुपर्छ । यो दौड होइन, जो दौडेर पदमा पहिला बस्यो उसैले उम्मेदवारी पाइहाल्यो । रास्वपा अन्य पार्टीको हुलमा पार्टी नपुगेर जन्मिएको पार्टी होइन ।’ 

सभापति लामिछानेले नराम्रो काम गर्ने पार्टीका नेताहरुलाई तत्काल कारबाही गर्ने स्पष्ट पारे । उनले रास्वपा मिसन २०८४ को अभियानमा रहेको बताए । 

Advertisement

Advertisement