गएको चुनावमा सबै कम्युनिष्ट मिल्न पाएको भए दुई तिहाई आउँथ्योः माधव नेपाल

Advertisement

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले २०७४ सालमा पाएको मतको सदुपयोग गर्न सकेको भए २०७९ को निर्वाचनमा कम्युनिस्ट पार्टीहरुले दुई तिहाईभन्दा बढी सिट जित्ने थियो भनेका छन् । 

आईतवार आफ्नो पार्टीको एक कार्यक्रममा उनले २०७४ सालको निर्वाचनमा कम्युनिस्ट पार्टीले करिब दुई तिहाइ मत ल्याएको भए पनि त्यसको सदुपयोग गर्न नसकेको बताए । माधव नेपालले त्यसबेला सरकार र पार्टी राम्ररी चलाएको भए २०७९ को निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट जित्ने थियो भने । नेपालमा कम्युनिस्ट पार्टीहरु सबैतिर फैलिएको उनको दावी छ । 

Advertisement

कम्युनिस्ट पार्टीहरु विश्वभर फैलिइरहेका भन्दै माधव नेपालले ल्याटिन अमेरिकी देशहरु, युरोप र अफ्रिकाका कतिपय देशहरुमा वामपन्थी पार्टीका नेताहरु राष्ट्रपति निर्वाचित भइरहेका बताए । समाजवादको नारा नेपालमा मात्रै नभई संसारका अरु देशमा पनि गुन्जिरहेको उनको भनाई छ । ललिता निवासको भ्रष्टाचार काण्डमा मुछिएका नेता नेपाललाई पनि पक्राउ गरी कारवाही गर्न जनदबाब तीब्र भइरहेको बेला उनले कम्युनिष्ट एकताको कुरा निकालेका हुन् । 

उनले भने, ‘आज नेपालको राजनीतिमा कम्युनिष्ट पार्टी सबैतिर फैलिएको पाइन्छ । २०७४ सालको चुनावमा कम्युनिस्ट पार्टीले झन्डै दुई तिहाई बहुमत प्राप्त गरेको थियो । त्यसको राम्ररी सदुपयोग गर्न सकेको भए, सरकार राम्ररी चलाएको भए, पार्टी राम्ररी चलाएको भए २०७९ सालको चुनावमा त्योभन्दा बढी सिट हामी पाउने थियौँ । त्योभन्दा बढी मत हामीले प्राप्त गर्ने थियौँ । अहिले संसारमा पनि कम्युनिस्टहरु फैलिइरहेका छन् । वामपन्थी राष्ट्रपतिहरु चुनावमा जितिरहेका छन् । ल्याटिन अमेरिकाका झन्डै दशवटा देशहरुमा वामपन्थी राष्ट्रपतिमा निर्वाचित भएका छन् । युरोपका देश देशमा, अफ्रिकाका देशहरुमा वामपन्थी पार्टीका प्रभाव फैलिइरहेको छ । त्यस हुनाले नेपाल मात्रै होइन, संसारको अरु देशमा पनि समाजवादको नारा गुन्जिरहेको छ । कम्युनिस्ट पार्टीको नारा फैलिइरहेको छ । त्यस हुनाले हाम्रो यो लडाइँ अन्याय, अत्याचार, असमानता, भेदभावका बिरुद्धमा अनि सबै खालका बेथितिहरुका बिरुद्धमा, न्याय र समानताका निम्ति, सबैको सुख, समृद्धिको निम्ति भएको हुनाले हाम्रो उद्देश्य न्यायोचित छ । पवित्र छ । राम्रो छ ।’

Advertisement

Advertisement