दिल्ली भ्रमणमा भारतीय पक्षसँग कुरा गर्न दाहाल डराएः ओली

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको टिप्पणी गरेका छन् । आफ्नो पार्टीको परराष्ट्र मामिला विभागको कार्यक्रममा शनिबार उनले भारत भ्रमणमा राष्ट्रिय स्वार्थ प्रधान नभई सत्तास्वार्थ मात्रै प्रधान भएको बताए । 

ओलीले नेपाली आवश्यकता, नेपाली हीत, नेपालको न्यायोचित पक्षमा हुनुपर्ने कुराहरुमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणमा धेरै कमजोरीहरुको देखाएको जिकिर गरे । उनले ईपीजी प्रतिवेदन र नेपालको भूमिबारे समेत प्रधानमन्त्री दाहालले भारतीय पक्षसँग कुनै कुरा गर्न नसकेको बताए । ओलीले राष्ट्रिय हीतलाई सर्वोपरी राखेर मात्रै परराष्ट्र नीति तय गर्न आफूहरु सदैव तयार रहेको र रहिरहने अडान समेत राखे । 

Advertisement

सरकारले मनपरी र बेठिक ढंगले अघि बढाएको परराष्ट्र सम्बन्धमा आफ्नो पार्टीको साथ नरहने उनको भनाई थियो । ओलीले भने, ‘अहिलेका प्रधानमन्त्री अस्ती भर्खर भारत जानुभयो । कुन–कुन सम्झौता गर्नुहुन्छ । केही पनि बताउनु भएन यहाँ । जे गर्नुपर्ने, त्यो केही पनि काम गर्नुभएन् । दुई देशका बीचमा त्यत्रो सहमतिका साथ प्रवुद्ध व्यक्ति समूह बनाइयो । १९५० को सन्धिलगायतका विभिन्न सन्धि, सम्झौता र सम्बन्धहरुका विविध पक्षहरुको अध्ययन गरेर नेपाल र भारतबीचको सम्बन्धलाई आजको समयानुकुल न्याय र समानतामा आधारित उचित सम्बन्धि, सुमधुर र सदृढ सम्बन्ध कसरी बनाउने ? कसरी त्यसरुपमा विकास गर्ने, जो पारस्परिक लाभ र समानताको आधारमा होस् । यस हिसावले ईपीजी गठन गरिएको थियो । त्यस सम्बन्धमा कुरा गर्नुपर्दथ्यो । कुरा गर्नु भनिएको थियो । प्रधानमन्त्रीजीले त्यो कुरा उठाउनु भएन् ।’ 

उनले थपे, ‘हाम्रो भुगोलको बारेमा, हाम्रो सीमाको बारेमा जो भारतले विवादित बनाउन खोजेको छ । त्यस सम्बन्धमा टुंगो लगाउनु पर्दथ्यो । त्यो लागेन । यस्ता थुप्रै कुराहरु, आवश्यकता र भावना, नेपाली आवश्यकता, नेपाली हीत नेपालको न्यायोचित पक्षमा हुनुपर्ने कुराहरुको सन्दर्भमा यति कमजोरी देखाइयो । सत्तास्वार्थ प्रधान भयो । राष्ट्रिय स्वार्थ प्रधान भएन । कतिपय मानिसहरुले लेखेको हुर्छ, कतिपयले बोलेको हेर्छु । अचम्म लाग्छ । राष्ट्रिय हीत त सर्वोपरी हुनुप¥यो नि कमसेकम । यसमा त कसैले पनि तलमाथि गर्न भएन । यसमा राष्ट्रिय सहमति बनाउनु पर्ने । अब सरकारले मनपरी र बेठिक गर्दै जाने, सरकारले बेठिक गर्दै जाने, हामीले समर्थन गर्दै गएर राष्ट्रिय सहमति हुने त होइन । राष्ट्रिय हीतमा अडिएर राष्ट्रिय सहमति हुनुपर्छ । राष्ट्रिय हीतको पक्षमा सरकारले कुरा ल्याओस् । सरकार पक्षले कुरा ल्याओस् । अरु पार्टीले कुरा ल्याउन । हामी राष्ट्रिय हीतको पक्षमा जोसुकैले ल्याएको कुरालाई पनि समर्थन गर्छौं । र, एकतावद्ध भएर अगाडि तयार छौं । राष्ट्रिय हीत छोडेर सहमती हुने कुरामा नेकपा एमाले तयार हुँदैन ।’ 

अध्यक्ष ओलीले भारत र चीन दुई मित्र राष्ट्रहरु भएकाले उनीहरुसँग खुलस्त कुरा राखेर मात्रै आपसी समस्यालाई समाधान गर्न सकिने बताए । उनले आफ्ना जायज मागहरु पनि छिमेकीसँग राख्न नसक्ने हो भने त्यस्तो खालको सरकार र सत्ताको कुनै अर्थ नहुने बताए । 

Advertisement

Advertisement