गुम्बाहरुमा अमेरिकी गतिविधिको विरोध गर्दै आएका ल्यारक्यालको नियुक्तिबाट कांग्रेस सशंकित

Advertisement

काठमाडौं । नेपालमा गुम्बाहरुमा अमेरिकी तथा पश्चिमाहरुको गतिविधि हुने गरेको भनेर प्रतिक्रिया दिँदै त्यसको विरोध समेत गर्दै आएका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने कुराले सत्तारुढ कांग्रेस झस्किएको छ । 

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लामालाई कोषको उपाध्यक्ष नियुक्त गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको निर्णयको स्वामित्व आफ्नो पार्टीले नलिने बताएका छन् । संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै शर्माले सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्यारक्याल लामालाई नियुक्त गर्नुले गलत सन्देश प्रवाह भएको बताएका छन् । 

Advertisement

बैंकको लकरमा गोलीको फोका लुकाउने लगायतका घटनामा मुछिएका उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको सिफारिसमा कोषको उपाध्यक्ष नियुक्त गरिएको थियो । यद्यपि लामाले आफूलाई फँसाउने प्रयास हुँदै आएको भन्दै आफू निर्दोष रहेको दावी गर्ने गरेका छन् । 

विवादास्पद छविका लामाको नियुक्तिप्रति आफ्नो पार्टी कांग्रेसको प्रष्ट विमति रहेको भन्दै नेता शर्माले सो निर्णयको स्वामित्व कांग्रेसले नलिने बताएका छन् । सरकारको सो निर्णयप्रति कांग्रेस पार्टीको आपत्ति रहेको उनले बताए । शर्माले सरकारको निर्णयप्रति पार्टीबाट सरकारमा समावेश उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि आफूले ध्यानाकर्षण गराएको बताएका छन् । 

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्दैगर्दा सम्बन्धित व्यक्तिको छविको विषयमा ध्यान नपुर्याउनु सरकारको गम्भीर गल्ती भएको उनको भनाई छ । शर्माले भने, ‘एकदमै गलत सन्देश प्रवाह भएको छ । कुनैपनि संस्थाको नेतृत्व गर्नलाई चाहिने आवश्यक योग्यताहरु के हुन् ? कुनैपनि संस्थाका नेतृत्व गर्नका लागि आवश्यक व्यक्तिगत पृष्ठभूमि, छवि, योग्यता के हो ? भन्ने विषय सार्वजनिक बहसमा आइरहनुपर्ने विषय होइन् । किनभने स्थापित परम्परा, स्थापित विधि छ । प्रक्रियाहरु छन् ।’

साथै, नेकपा एमालेले पनि लामो नियुक्तिमा आपत्ति जनाएको छ । एमालेका सांसद रघुजी पन्तले करोडौं रुपियाँको चलखेलमा लुम्बिनी विकास कोषको उपाध्यक्षमा लामालाई नियुक्त गरिएको बताए । उनले लामाको नियुक्ति सरकारले भ्रष्टाचारको गफ लगाउनु मात्रै भएको प्रतिक्रिया दिएका छन् । 

लामा विभिन्न दल चहादै अहिले माओवादी केन्द्रसँग नजिक हुन पुगेका हुन् । प्रधानमन्त्री दाहालको चीन भ्रमणको मिति नजिकिएको बेला लामो नियुक्तिलाई अर्थपूर्णरुपमा हेरिएको छ । 

Advertisement

Advertisement