सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेकाले पक्राउ परेका शर्मालाई थुनामुक्त

Advertisement

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ । सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्री पनि दोषी रहेकाले उनीहरुले राजीनामा दिनुपर्छ भन्दै आएका शर्मालाई बिहीबार सरकारले पक्राउ गरेको थियो । 

शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा पक्राउ गरेको थियो । यसअघि सोही अभियोगमा उनलाई पक्राउ गरिए पनि उनी निर्दोष ठहरिएका थिए । अदालतले शर्मालाई शैक्षिक प्रमाणपत्र छानविनका लागि थुनामा राख्न नपर्ने औंल्याएको छ । 

Advertisement

म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पुर्याइएका शर्मालाई न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा राख्न सीआईवीले गरेको मागलाई अस्वीकार गरेको हो । न्यायाधीश शर्माले सुनिल भागेर देशबाहिर जाने सम्भावना नभएको र प्रमाण नष्ट गर्न नसक्ने भएकाले तारिखमै राखेर अनुसन्धान गर्न भनेको हो ।

जारी आदेशमा भनिएको छ, ‘शैक्षिक योग्यताको प्रमाणपत्र भारतको बिहारको राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको देखिएको र अनुसन्धानका लागि राष्ट्रिय परीक्षा बोर्डबाट मिति २०७१र४र५ मा पत्राचार भइसकेको सन्दर्भमा प्रतिवादी सुनिल कुमार शर्मा भागिजाने सम्भावना पनि नरहेको र निजले प्रमाणको लोप वा नष्ट गर्ने अवस्थाको विद्यमानतासमेत रहेको समेत नदेखिँदा म्याद थपका लागि उपस्थित गराइएका प्रतिवादी सुनिल कुमार शर्मालाई मुद्दा अनुसन्धानका लागि प्रहरी हिरासत थुनामा नै राख्नुपर्ने अवस्थाको विद्यमानता मिसिल संलग्न कागजबाट नदेखिँदा यी प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को उपदफा १ बमोजिम तारेखमा राखी मुद्दा अनुसन्धान गर्नू।’

Advertisement

Advertisement