चन्द्रमापछि सूर्यको अध्ययनतर्फ इण्डियाको रुची, शनिबार ‘आदित्य’लाई प्रक्षेपण गरिने

Advertisement

काठमाडौं । इण्डियाले चन्द्रमापछि सूर्यको अध्ययनतर्फ रुची बढाएको छ । आफ्नो चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउन सफल इण्डियाले एक सातापछि नै सूर्यको अनुसन्धान गर्ने अन्तरिक्ष अभियान पठाउनका लागि तयारी थालेको हो । 

बीबीसीका अनुसार इण्डियाले अन्तरिक्षमा आधारित वेधशाला सूर्यतर्फ प्रक्षेपण गर्न लागेको हो । यसले पृथ्वीको सबैभन्दा नजिकको तारा अर्थात सूर्यको अनुगमन र अनुसन्धान गर्नेछ । साथै, यो अन्तरिक्ष अभियानको उद्देश्य सूर्यको नजिकबाट सौर्य आँधी जस्ता अन्तरिक्ष मौसमी गतिविधिहरूको अध्ययन गर्ने योजना रहेको छ । 

Advertisement

सूर्यको अध्ययनका लागि यसअघि अरु देशहरुले पनि अन्तरिक्ष यानहरु पठाइसकेका छन् । अमेरिकी अन्तरिक्ष संस्था नासा, युरोपेली अन्तरिक्ष एजेन्सी इएसएले यसअघि सूर्यको परिक्रमा गर्ने यान पठाइसकेकोमा अहिले इण्डियाको अन्तरिक्ष अध्ययन संस्था इसरोले यान पठाउने अन्तिम तयारी गरेको छ । इण्डियाले पठाउन लागेको आदित्य नाम दिइएको यान सूर्यको नजिक एल–वान भन्ने ठाउँमा पुगेर सूर्यको अनुसन्धान गर्नेछ । आदित्यको अर्थ संस्कृतमा सूर्य हो । 

भोलि शनिबार बिहान ११ः५० मा चेन्नाईबाट सय किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटास्थित अन्तरिक्ष यान प्रक्षेपणस्थबाट अन्तरिक्षमा प्रक्षेपण गर्न लागिएको आदित्य पृथ्वीबाट १५ लाख किलोमिटर पर रहेको एल–वानसम्म पुग्न चार महिना लाग्ने अनुमान गरिएको छ । 

Advertisement

Advertisement