आममाफी पाएका रिगललाई जेल चलान गर्न र पीडितलाई न्याय दिन राजधानीमा प्रदर्शन

Advertisement

काठमाडौं । महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट आममाफी पाएका रिगल उपनामले चिनिने योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै आन्दोलन गरेका छन् ।

बुधवार महिला अधिकारकर्मीहरूले आममाफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । ढकाललाई कैद मिनाहा दिइएकोप्रति आपत्ति जनाउँदै मृतककी पत्नी भारती मानन्धर माईतीघरमा केही दिनदेखि अनसनमा छिन् । 

Advertisement

आन्दोलनकारीले चेतन मानन्धरको आत्मालाई शान्ति दिन माग गर्दै शान्तिपूर्ण खबरदारी बिरोध र्याली गरे । नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका ढकाललाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाहा गरेको थियो । 

तामझामसहित जेलबाट छुटेका तरुण दलसम्वद्ध ढकाल २०७२ असार २८ मा नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । रिगल बिरुद्धको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाउ आदेश जारी गरिसकेको छ । 

आन्दोलनमा उत्रिएका महिला अधिकारकर्मी अञ्जु केसी श्रेष्ठले यो घटना संविधानको धज्जी उडाएको बताइन् । उनले दिनदहाडै हत्या गरेको सजाय सरकारले आममाफी दिनु भनेको अपराध भएको बताइन् । 

अर्की आन्दोलनकर्मी कल्पना बस्नेतले भारतीले न्याय पाउनुपर्ने र महिलामाथि हिंसा गर्नु नहुने बताइन् । उनले आममाफी दिनेकाम फिर्ता गर्नुपर्ने बताइन् । बस्नेतले सरकारले महिलामाथि नै आक्रमण गरेको बताइन् । 

आन्दोलनकारीहरुले भारतीले न्याय पाउनुपर्ने बताए । स्वतन्त्रता भनेको यही हो भन्दै प्रश्नसमेत गरेका थिए । आन्दोलनकर्मीहरुले विधिको शासन पालन गर्, हाम्रो जीवनको रक्षा गर, अपराधीलाई सम्मान गर्न बन्द गर्, जघन्य अपराधीलाई जेल चलान गर् लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए । 

Advertisement

Advertisement