काठमाडौं । पाँच दिनदेखि ठप्प मन्थली(लुक्ला उडान आज बिहानदेखि सुरु भएको छ ।
खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका थिए भने आज बिहानदेखि उडान सुरु भएसँगै पर्यटकहरु मन्थलीदेखि लुक्लातर्फ लागेका छन् ।
नागरिक उड्ययान प्राधिकरण रामेछापकी सूचना अधिकारी सरिता पाण्डेका अनुसार हिजोसम्म खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान हुन् सकेको थिएन । आज मौसम खुलेको छ, बिहान छ बजेदेखि मन्थली–लुक्ला उडान सुरु भएको छ ।
बिहान छ बजेदेखि अहिले ९ बजे सम्ममा २५ वटा उडानहरु भइसकेको छ भन्ने उडानहरु अझै जारी नै रहेको उनले जानकारी दिइन् ।
लुक्ला उडानका लागि मन्थली विमानस्थल पुगेका विदेशी पर्यटकहरुलाई त्यहाँ बस्न समस्यामा परेका थिए । शनिबारदेखि बुधबारसम्म उडान स्थगित भएको थियो ।