पीडितलाई केन्द्रमा राखेर संक्रमणकलीन न्याय टुंग्याउन राष्ट्र संघका महासचिवको सुझाव

Advertisement

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भूराजनीतिक तनाव बढ्दै जाँदा विश्व विभाजन हुँदै गइरहेको बताएका छन् । 

मंगलवार संसदमा सम्बोधन गर्दै उनले जलवायु प्रकोप घातक शक्तिका तीब्ररुपमा अघि बढिरहेको भन्दै नेपालबाट विश्वले जलवायु परिवर्तनबाट भएका असर रोक्नका लागि पाठ सिक्न सक्ने बताए । 

Advertisement

गुटेरसले नेपाल देश शान्तिको प्रवद्र्धक, बहुपक्षवादको पक्षधर र दिगो विकास तथा जलवायुसम्बन्धी कार्यको कट्टर समर्थक रहेको बताए । उनले नेपालले द्वन्द्वलाई सफलतापूर्वक साम्य पारेको भन्दै यस्तो प्रक्रियालाई राष्ट्रसंघले समर्थन गर्न पाउँदा खुशी लागेको बताए । 

गुटेरसले सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ टुंग्याउन लाग्दै गरेको भन्दै अन्यायमा परेका पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिनेगरी शान्ति प्रक्रिया टुंग्याउनुपर्ने बताए । उनले सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । 

गुटेरसले पीडितलाई केन्द्रमा राखेर संक्रमणकलीन न्याय टुंग्याउनसके दिगो हुने बताए । उनले भने, ‘भूराजनीतिक तनाव बढ्दै जाँदा विश्वव्यापी विभाजनहरू गहिरो र खतरनाक हुँदै गइरहेका छन् । साना मुलुकहरू ठूला शक्तिहरूबीचको प्रतिष्पर्धामा सम्पाश्र्विक क्षति हुन डराउँछन् । जलवायु प्रकोप घातक शक्तिका साथ तीब्र भइरहेको छ । यी सङ्कटहरूको प्रतिकार्य गर्न विश्वले नेपालबाट धेरै सिक्न सक्छ । यो देश शान्तिको प्रवद्र्धक, बहुपक्षवादको पक्षधर र दिगो विकास तथा जलवायुसम्बन्धी कार्यको कट्टर समर्थक हो । दुई ठूला शक्तिका बीचमा रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग तपाइँहरू आफैँले बनाउनुभएको छ ।’ 

गुटेरसले थपे, ‘अल्पविकसित देशको स्थितिबाट तपाइँहरू अगाडि बढ्दै हुनुहुन्छ । संयुक्त राष्ट्रसंघ एक सहज सङ्क्रमणलाई समर्थन गर्न प्रतिवद्ध छ । र तपाईंहरू आफ्ना शान्ति प्रक्रियाका अन्तिम चरणको तयारी गर्दै हुनुहुन्छ र सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ । प्रश्नहरू र अन्यायद्वारा त्रसित पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिने र विगतलाई पूर्णबिराम दिन मद्दत गर्ने प्रक्रिया हुनुपर्छ । सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भुमिका खेल्न सक्छ । तर यो सजिलो भने छैन । स्वभावतः यो एक नाजुक र जटिल प्रक्रिया हो । हामीलाई के कुरा थाहा छ भने सङ्क्रमणकालीन न्यायमा सफलताको सबैभन्दा ठूलो सम्भावना हुन्छ जब यो समावेशी तथा वृहत हुन्छ र यसको केन्द्रमा पीडितहरू हुन्छन् । जब यो सत्य, क्षतिपूर्ति र न्यायमा केन्द्रित हुन्छ । त्यतिमा मात्र होइन जब महिलाहरू पूर्ण रूपमा सहभागी हुन्छन् । यसका अतिरिक्त जब मानवाधिकार उल्लङ्घनका सबै पीडितहरूले अर्थपूर्ण समाधान पाउन सक्छन् । नेपालमा प्रगति र समाधान खोज्ने प्रयासलाई म स्वागत गर्दछु । तपाईंहरू एक्लो हुनुहुन्न ।’

महासचिव गुटेरेसले विश्वका सबै राष्ट्रहरूमध्ये नेपाल संयुक्त राष्ट्र संघको मिसनमा सेना पठाउने दोस्रो ठूलो राष्ट्र भएको बताए । उनले हिमनदीहरू असामान्य गतिमा पग्लिरहेको भन्दै त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए । 

Advertisement

Advertisement