गृहमन्त्री भेट्न पनि नदिएको स्वतन्त्र पार्टीका साँसदको गुनासो

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं पूर्वमन्त्री डोलप्रसाद अर्यालले गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट नदिएको गुनासो गरेका छन् । 

रुकुम र जाजरकोटका सीडीओहरुले मन्त्री र सांसदहरुलाई मात्रै स्वागत गर्नुपरेपछि भूकम्प पीडितलाई राहत वितरण गर्ने कुरामा समस्या आएको र त्यो समस्या समाधानका लागि सुझाव दिन गृहमन्त्रीलाई भेट्न खोज्दा पनि आफूले नपाएको उनको गुनासो थियो । 

Advertisement

सोमवार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा अर्यालले मन्त्री र सांसदहरुलाई स्वागत गर्न दुई जना सहसचिव पठाएर भएपनि भूकम्प पीडितलाई राहत दिने काममा सीडीओहरुलाई लगाउन पनि सरकारलाई सचेत गराए । उनले सरकार आम उपभोक्ताको हितका लागि जिम्मेवार नभएको आरोप पनि पटक पटक लगाए । 

अर्यालले भने, ‘रुकुम र जाजरकोटमा भूकम्प गयो । सीडीयो साहेवहरु चाहीँ माननीय र मन्त्रीहरु स्वागत र सत्कारमै व्यस्त भएर त्यहाँ जम्मा भएको राहत वितरणमा समस्या आयो भनेर गुनासो छ भने हामी कतातिर गईरहेका छौं भन्ने कुरा त्यसले पनि देखायो । मैले गृहमन्त्रीज्युलाई भेटेरै तुरुन्तै तपाइँले यो काठमाडौंबाट दुई जना सहसचिवहरु पठाईदिनुस् स्वागत गर्नका लागि । त्यहाँ बसेर उहाँहरुले स्वागत गर्नु हुन्छ । तर सीडीयोहरुलाई चाहिँ काम गर्न लगाउनुस भन्न गएको । तर उहाँले भेटन समय नै दिनु भएन । अब ठिकै छ । भन्न गएको, भेट्न पाइएन । अब के गर्नु ?’

सत्तारुढ नेपाली काँग्रेसकी सांसद रमा कोईराला पौड्यालले सरकार जिम्मेवार नभएकाले मूल्यवृद्धि नियन्त्रण गर्न नसकिएको बताइन । उनले संसदीय समितिले यस अघिको बैठकमा मात्रै चिनी लगायतका अति आवश्यकीय वस्तुहरुको सहज ढंगले आवश्यक व्यवस्था मिलाउन निर्देशन दिए पनि सरकारले सो अनुसार कामै नगरेको स्मरण गराइन् । 

नेकपा (एमाले)का सांसद हेमराज राईले मुलुक कमिशनतन्त्रको, घुसखोरी, कालोबजारीहरुको, अराजकताको एउटा ठूलो भूमरी भित्र प्रवेश गरेको जस्तो अनुभुति आफूले गरेको बताए । सरकार र सरकारी निकायलाई जति अनुगमन गरेपनि उसले इमान्दार ढंगले काम नगरेकाले उपभोक्ताहरु मारमा पर्नुपरेको उनको भनाई छ ।

Advertisement

Advertisement