दुर्गा प्रसाइँको आन्दोलनले तनावः सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान सुरक्षा निकायका प्रमुखहरुसँग देशको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् । 

व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाइँले यही आउँदो मंसिर ७ गते लाखौं मानिस राजधानी काठमाडौंमा ल्याएर आन्दोलन गर्ने बताइरहेको बेला दाहालले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएका हुन् । सोही आन्दोलनलाई कमजोर पार्न सरकारले हालै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । 

Advertisement

आज तनहुँको आँबुखैरेनीमा आयोजित कार्यकर्ता भेटघाटमा पनि प्रधानमन्त्री दाहालले सुरक्षा निकायका प्रमुखसँग आफूले सुरक्षा अवस्थाबारे जानकारी लिएको खुलासा गर्दै देशको सुरक्षा अवस्था सामान्य रहेको बताएका छन् । 

उनले भने, ‘बिहान मात्रै मैले सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरेको थिएँ । देशको सुरक्षा अवस्था सामान्य छ ।’ जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस भइरहेको पुनः दोहोर्याउँदै दाहालले त्यसलाई एकतावद्ध भएर परास्त गरिने बताए ।

प्रसाइँले अहिलेको संघीय गणतन्त्रलाई उल्ट्याएर राजसंस्थालाई पुनस्थापित गर्ने, नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने, प्रदेशहरु खारेज गर्ने, गरिवको २० लाख रुपियाँसम्मको ऋण मिनाहा हुनुपर्ने, बैंकको ब्याजदर घटाउनुपर्ने, भ्रष्टाचारीहरुलाई कारवाही हुनुपर्ने जस्ता माग अघि सारेका छन् । 

Advertisement

Advertisement