सरकारको बैठकको निर्णय– अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रसँग सुझाव लिने

Advertisement

काठमाडौं । समग्र अर्थतन्त्र सुधार गरी थप चलायमान बनाउनका लागि सरकारले निजी क्षेत्रसँग सुझाव लिने भएको छ । देशको अर्थतन्त्रबारे सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सरकारका मन्त्री, मुख्यसचिव, सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय योजना आयोगका प्रतिनिधिको बैठक बसेको थियो । 

प्रधानमन्त्री निवास बालुवाटारमा बैठकले निजी क्षेत्रको सुझाव, सल्लाहसहित अर्थतन्त्र सुधारका लागि थप के गर्न सकिन्छ ? भन्ने विषयमा छलफल गर्ने निर्णय गरेको अर्थमन्त्री प्रकाशशरण महतले बताए । उनले सरकारले निजी क्षेत्रसँग मंगलबार दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्ने बताए । 

Advertisement

उनले भने, ‘आन्तरिक संरचनामा के उपलब्धी भयो, वर्तमान समस्या र चुनौति तथा आगामी कार्यदिशा के लिएर अगाडि बढ्दैछौं भन्ने विषयमा निजी क्षेत्रको पनि सुझाव लिने योजना रहेको छ ।’ प्रधानमन्त्रीको निर्देशनअनुसार मैले वर्तमान देशको अर्थतन्त्रबारे बैठकमा ब्रिफिङ गरेको महतले सुनाए । 

बैठकमा राष्ट्र बैंकका गर्भनर र योजना आयोगका प्रतिनिधिले पनि आफ्ना कुरा राखेका थिए । महतले थपे, ‘समग्रमा हाम्रो अर्थतन्त्रले लय पक्रदै गरेको छ, विप्रेषण, पर्यटक आगमन र शोधान्तरको स्थितिले हामी राम्रो अवस्थामा छौं । कारोबार कम भइरहेको, उत्पादन कम, लगानी वृद्धि नभइरहेको अवस्था छ, यस विषयमा पनि समीक्षा भयो । जग्गा कारोबार, बैंकबाट कर्जा प्रवाह बढेको र गत वर्षको तुलनामा पूँजीगत खर्च पनि बढेको र साधारण खर्चमा मितव्ययी भएको छ । लक्ष्यअनुसार हामीले उपलब्धी हासिल गरिरहेका छौं ।’

रोजगारीका अवसर वृद्धि गर्ने विषयमा पनि छलफल भएको उनले बताए । विशेषतः सहकारी र लघु वित्तको नियमन अभावले समस्या आएको विषयमा पनि छलफल भएको थियो । लिएको ऋण तिर्नुपर्छ, तर त्यसलाई कसरी सहज बनाउन सकिन्छ र कति समय थप्न सकिन्छ भन्ने विषयमा राष्ट्र बैंकले के गर्न सक्छ भन्ने विषयमा छलफल भएको मन्त्री महतले बताए । 

बजेट कार्यान्वयनको चुनौतिलाई सरकारका सबै संयन्त्रले एक लयमा छिटो छरितोसँग परिणाम देखाउने गरी काम गर्ने विषयमा छलफल भएको बताउँदै उनले जनताका सरोकारका विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताए । 

Advertisement

Advertisement