काठमाडौं । भन्सार विभागले आयात घट्दा महसुल असुलीमा भने प्रगति गरेको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार करिब चार प्रतिशतले आयात घट्दा ७ प्रतिशतले भन्सार महसुल बढेको हो ।
गत आर्थिक वर्षको ४ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा करिव ७ प्रतिशतले बढी राजस्व संकलन गरेको हो ।
भन्सार विभाग श्रोतका अनुसार गत आर्थिक वर्षमा रु. १ खर्ब २८ अर्ब राजस्व संकलन गरेकोमा चालु आर्थिक वर्षमा रु १ खर्ब ३७ अर्ब राजस्व संकलन गरेको छ ।
गत वर्षको तुलनामा आयात व्यापारमा ३.७९ प्रतिशतले कमि आएको भएतापनि राजस्व सङ्कलनमा उल्लेखनीय प्रगति भएको देखिएको छ । गतवर्ष रु. ५ खर्ब ३३ अर्बको आयात भएकोमा चालु वर्षको सोही अवधीमा रु. ५ खर्ब १२ अर्बको मात्र आयात भएको छ ।
भन्सारबाट संकलन हुने राजस्व आयात व्यापारमा आधारित भएकोले वस्तुको आयात बढ्दा राजस्व पनि बढ्ने र वस्तुको आयात घट्दा राजस्व समेत घट्ने भएतापनि चालु आर्थिक वर्षको चार महिनामा आयात ब्यापार घट्दा समेत राजस्व सङ्कलनमा उल्लेख्य सुधार आएको देखिएको छ।
भन्सार राजस्वमा महत्वपूर्ण योगदान दिने पेट्रोलियममा आधारित सवारी साधनको सट्टा न्यून महसुल भएका विद्युतीय सवारी साधनको आयात बढेको छ ।
पेट्रोलियम पदार्थबाट संकलन हुने राजस्वमा बढोत्तरी नहुनु, फलामजन्य वस्तुबाट प्राप्त हुने राजस्वमा गिरावट आउनु र चोरी पैठारी अपेक्षित रुपमा नियन्त्रण नभएको अवस्थामा समेत राजस्व सङ्कलनको वृद्धि दर उच्च देखिएको विभागको दाबी छ ।
भन्सार विभागले आन्तरिक नियन्त्रण प्रणालीमा गरेको सुधार, राजस्व चुहावटमा लिएको शून्य सहनशीलता, भन्सार मूल्याङ्कनमा गरिएको सुधार तथा नीतिगत परिवर्तनका कारण राजस्व सङ्कलनमा सुधार आएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।
महानिर्देशक पौडेलका अनुसार विभागबाट अनलाइनको माध्यमबाट हुने प्रत्यक्ष अनुगमन कार्यलाई प्रभावकारी बनाईएको छ । यस्तै बिदाको दिनमा र कार्यालय समय अगाडि पछाडि समेत सबै भन्सार कार्यालयको अनुगमन गर्ने कार्यको थालनी गरिएको छ ।
अनुगमनको क्रममा भन्सार मूल्यांकन, वस्तु वर्गीकरण र मालवस्तुको घोषणामा कुनै कैफियत देखिएमा तत्काल भन्सार ऐन अनुसार कारवाही गर्न लगाउने गरिएको छ ।
यसरी अनुगमन गर्दा गम्भीर राजस्व छली हुन सक्ने देखिएमा त्यस्ता कन्साइनमेन्ट रोकी विभागबाटै छड्के परीक्षणको लागि टोली पठाउने कार्यको सुरुवात भएको छ ।
राजस्व चुहावटमा कुनै कर्मचारी संलग्न देखिएमा तत्काल जिम्मेवारीबाट हटाउने जस्ता नीति अवलम्बन गरिएको विभागले बताएको छ ।
विभागले प्रत्यक्ष अनुगमनबाट मात्रै चालु आर्थिक वर्षको श्रावण महिनामा १२ करोड १८ लाख, भदौमा १४ करोड, असोजमा २० करोड र कात्तिकमा १२ करोड थप राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा प्रत्यक्ष अनुगमनबाट साउनमा २ करोड ३० भदौमा १ करोड ८६ लाख, असोजमा ८३ लाख र कात्तिकमा ५ करोड १० लाख थप राजस्व असुल गरेको थियो ।
गत आर्थिक वर्षको तुलनामा प्रत्यक्ष अनुगमनबाट करिव ४७७ प्रतिशत थप राजस्व संकलन गरेको छ।