काठमाडौं । पोखराको प्याराग्लाइडिङ अनिश्चितकालका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बन्द गरेको छ । प्याराग्लाइडिङ पाइलटहरु आफै झगडा गर्न थालेपछि उडान सुरक्षालाई दृष्टिगत गरी क्यानले पोखराको प्याराग्लाइडिङ अर्को आदेश नआएसम्मका लागि बन्द गर्न निर्देशन दिएको हो ।
नेपाल हवाइ खेलकुद सँस्था (ना)का अध्यक्ष सुनिल भट्टराईले यो झगडा नभई प्याराग्लाइडिङ उडान कुन मोडलमा गर्ने ? भन्ने कुरामा छलफल मात्रै भएको भनेर पाइलटहरुको बचाउ गर्ने प्रयास गरे । उनले यस विषयमा छिटोभन्दा छिटो छलफल गरेर एउटा निचोडमा पुग्ने पनि दावी गरे ।
भट्टराईको भनाई जस्ताको तस्तैः
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि प्याराग्लाइडिङ उडान हुने कि नहुने भन्ने दुविधा पनि थियो । सबै प्याराग्लाइडिङ व्यावसायीहरु एक जुट भएर व्यवस्थित गरी बुकिङ ‘वान डोर’ प्रणालीमा गर्ने भनेर क्यान पनि सहमति भएपछि हामी विगत १६ महिनादेखि यही प्रणालीमा सञ्चालन गरिरहेका थियौं ।
प्रत्यक छ–छ महिनामा यस प्रणालीलाई समीक्षा गर्दै सञ्चालन भइरहेको थियो । पाँच दिनअघि मात्र हामीले एउटा त्यस्तै भेला राखेका थियौं । त्यसमा दुई–तीन सय प्याराग्लाइडिङ पाइलट, व्यावसायी भेला भएका थिए । भेलामा ‘वान डोर’ नै अगाडि बढाउने निर्णय भयो । त्यसको दुई–तीन दिनपछि व्यावसायीहरुले ‘वान डोर’मा होइन, खुल्ला बुकिङ प्रणाली गर्नपर्छ भने । नाले पनि खुल्ला बुकिङ प्रणाली मै जाने निर्णय गर्यो ।
तर उक्त निर्णयप्रति प्याराग्लाइडिङ पाइलटहरुले चाहिँ खुल्ला बुकिङ प्रणालीमा नजान माग गरे । खुल्ला बुकिङ प्रणाली गर्दा व्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुने, सुरक्षामा असर पर्ने कुरा आयो । पहिला पनि पैसा घटेको थियो । प्याराग्लाइडिङ उडानको मूल्य दुई हजारदेखि लिएर तीन हजारसम्म भएको थियो । यसले गर्दा यात्रुहरुलाई पनि राम्रो सुविधा नहुने, दुर्घटना पनि धेरै हुने जोखिम भयो । फेरि त्यही दिनहरु दोहोरिने पाइलटहरुको चिन्ता हो । यस्तो जोखिम दोहोरिन्छ कि ? भन्ने डरले खुल्ला बुकिङ प्रणाली नगर्न माग गरेको छ । व्यवसायीहरुमा पनि कोही खुल्ला बुकिङ प्रणालीमा जान तयार छन् त केही वान डोरमा जान तयार छन् । अर्कोतिर कतिपय प्याराग्लाइडिङ पाइलट पनि वान डर बुकिङमा जान माग गरिरहेको छन् ।
पाइलटहरुले यस विशेषमा छलफल नगरेसम्म उडान नगर्ने भनेर अस्ती स्थगित गरेका थिए । हिजो चाहिँ क्यानले व्यवासायी र पाइलटको बीचमा कुरा नमिल्दा यसले सुरक्षामा असर पर्ने भन्दै कुरा नमिल्दासम्म पोखरा क्षेत्रमा प्याराग्लाइडिङ उडान सबै स्थगित गर्नु भनेर आदेश दिएको छ । क्यानको आदेश हामीले पोखराका सबै कम्पनीलाई पठाइसकेका छौं । हामी अहिले प्याराग्लाइडिङ पाइलटहरुसँग बसेर छलफल गरिरहेका छौं । समझदारी भइसकेपछि क्यानलाई बुझाएर उडान सुचारु गर्न अनुरोध गछौं ।