काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङको विषयमा कुनैपनि कुरा नउठाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री किराँतीले ग्राउण्ड ह्याण्डलिङको विषयमा कर्मचारीहरुले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङको विषय सरकारको निर्णयको कुरा भएको भन्दै कर्मचारीहरुले अनावश्यक कोकोहोला गर्नु आवश्यक नभएको बताए ।
उनले ग्राउण्ड ह्याण्डलिङको कुरा प्रधानमन्त्री र देशका ठूला राजनीतिक दलहरुको सरोकारको विषय भएको भन्दै कर्मचारीलाई यस विषयमा नबोल्न निर्देशन दिएका हुन् । उनले देशलाई वायुसेवा निमग चाहिने र त्यसलाई बचाउनका लागि ग्राउण्ड ह्याण्डलिङ पनि चाहिने स्पष्ट पारे । कर्मचारीले यो विषय उठाएमा नीति र नेतृत्वमाथिको हस्तक्षेप हुने उल्लेख गर्दै मन्त्री किराँतीले कुरा उठाएमा राम्रो नहुने चेतावनी समेत दिए ।
मन्त्री किराती कर्मचारी ट्रेड युनियनका नेताहरुमाथि समेत खनिए । उनले कर्मचारीहरुले धेरै नीतिगत कुरा गरेको भन्दै भाषण गर्ने कर्मचारी नै प्रधानमन्त्री हो कि जस्तो लागेको भनेर व्यंग्य गरे । नीतिको चिन्ता प्रधानमन्त्री, मन्त्रीहरुले गर्ने भन्दै नेतृत्वले बनाएको नीतिमा कर्मचारीहरु हिड्नुपर्ने बताए । उनले कर्मचारीहरुलाई आफ्नो परिधिभित्र बस्न र नीतिमाथि हस्तक्षेप नगर्न दिर्नेशन समेत दिए ।
मन्त्री किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणको तीनवटा तत्कालिन कार्याभार रहेको बताए । उनले यात्रुहरुको सुरक्षा गर्नु पहिलो कार्यभार रहेको उल्लेख गर्दै ईयुले पठाएको कालोसूचीबाट हटाउन सुधार गर्नुपर्ने १२ बुँदा अक्षरशः पालना गर्नुपर्ने दोस्रो कार्यभार रहेको बताए । त्यस्तै यात्रुमैत्री वातावरण बनाउनु तेस्रो कार्यभार रहेको छ । उनले न्युनतम स्रोत, साधनको उच्चतम प्रयोग गरेर विमानस्थललाई राम्रो बनाउनुपर्ने बताए ।
मन्त्री किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, भैरहवा र निजगढको विमानस्थल पीपीपी मोडल सञ्चालन गििरने पनि बताए ।