काठमाडौं । भक्तपुरको नगरकोटस्थित तायो इको रिसोर्ट होटल प्रा.लि.ले स्थापनाको पहिलो वर्ष सामान्य व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा पाँच करोड १० लाख रुपियाँको मात्रै व्यापार गरेको हो ।
तायोले थोरै मात्र व्यापार गरेपछि ऋणको ब्याज खर्च धान्न अपुग भएको छ । पहिलो बर्षको ब्याज खर्च नै १० करोड ३० लाख रहेकोमा कम्पनीले ब्याज खर्च धान्न नसकी नाफा–नोक्सान हिसाव ऋणात्मक हुन पुगेको हो ।
रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडका अनुसार दीर्घकालिन ऋणका लागि तायोले बीबी माइनस र सर्ट टर्म ऋणका लागि ए फोर रेटिङ पाएको छ ।
यो रिसोर्ट २८ रोपनी क्षेत्रफलमा फैलिएको छ । कम्पनीको ऋण लगानी अनुपात ७८ः२२ रहेको छ । रिसोर्टका सञ्चालक समिररत्न कंसाकार, पद्मिनी कंसाकार छन् । समिरका बाबु सुगतरत्न कंसाकार हुन्, जो नेपाल वायुसेवा निगम, नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्व गरिसेकका व्यक्ति हुन् ।
एक अर्ब ११ करोड लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको यो रिसोर्टको लागत बढेर एक अर्ब ३७ करोड पुगेको जनाइएको छ ।
होटल व्यावसाय उच्च प्रतिस्पर्धात्मक व्यावसाय भएकाले व्यापार सधैं जोखिममा रहने रेटिङ एजेन्सीको भनाई छ ।