भ्रमणबाहेक अन्य क्रियाकलापमा संलग्न हुने छैन भनी घोषणा गर्नुपर्ने नयाँ व्यवस्था
भ्रमणबाहेक अन्य क्रियाकलापमा संलग्न हुने छैन भनी घोषणा गर्नुपर्ने नयाँ व्यवस्था
काठमाडौं । बुधबारदेखि भिजिट भिसामा नयाँ कार्यविधि लागू हुँदै छ । नयाँ कार्यविधिअनुसार अब विदेश जान स्वघोषणा फारम भर्नुपर्ने भएको छ । नेपालीले विभिन्न ६ वटा देशमा जान अध्यागमन विभागमा स्वघोषणा फारम बुझाउनुपर्ने भएको हो ।
नयाँ व्यवस्थाअनुसार नेपालीले संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, कुबत, कतार, ओमन र साउदी अरबमा भिजिट भिसामा घुम्न जान उक्त फारम भर्नुपर्ने भएको हो ।
उक्त फारमसँगै विदेश जान इच्छुकले विभिन्न कागजात संलग्न गर्नुपर्ने हुन्छ । त्यसमा कम्तीमा ६ महिना म्याद भएको राहदानी अनिवार्य, गन्तव्य देशको भिसा र दुईतर्फी हवाई टिकट भएको समेत स्वघोषणा गर्नुपर्ने बताइएको छ ।
साथै, नयाँ व्यवस्थाअनुसार भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्रसमेत उल्लेख गर्नुपर्नेछ ।
त्यस्तै, कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण नगद वा डेबिट–क्रेडिट कार्ड र सो नभएमा सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणापत्र पनि चाहिनेछ । भ्रमणबाहेक अन्य क्रियाकलापमा संलग्न हुने छैन भनी समेत घोषणा गर्नुपर्ने नयाँ व्यवस्था छ ।
यसअघि गृह मन्त्रालयले सचिवस्तरीय निर्णयबाट २०७८ फागुन २५ मा भिजिट वा पर्यटकीय भिसामा जानका लागि कडा मापदण्ड तय गरेको थियो । उक्त मापदण्ड खारेज गर्दै नयाँ ६ बुँदे कार्यविधि जारी गरिएको हो ।