काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन आज (बिहीबार) हुँदै छ । मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।
आगामी फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदका लागि आज निर्वाचन हुन लागेको हो । बाँकी एक पदमा राष्ट्रपतिले मनोनयन गर्नेछन् ।
राष्ट्रिय सभा निर्वाचनका मतदाता भनेका प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्ष हुन् ।
निर्वाचनमा कुल दुई हजार ४७ मतदाता छन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता छन् भने मधेसमा ३७४, बागमतीमा ३४७ र गण्डकीमा २३० जना रहेका छन् । त्यस्तै, लुम्बिनीमा ३०५, कर्णालीमा १९६ र सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।