वैकल्पिक रेलमार्गको अध्ययन गर्न समिति
प्रतीकात्मक तस्बिर

Advertisement

चितवन । भरतपुर महानगर हुँदै जाने प्रस्तावित रेलमार्गमा एक हजारभन्दा बढी घर पर्ने भएपछि वैकल्पिक रेलमार्गको अध्ययन गरिने भएको छ । 

भरतपुर महानगरपालिकाले आज बोलाएको छलफल कार्यक्रममा वैकल्पिक मार्गका बारेमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो । रेल विभाग, परामर्शदाता कम्पनी, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला छलफलमा सहभागी थिए । 

Advertisement

महानगर प्रमुख रेनु दाहालका अनुसार महानगर, रेल विभाग र कोरियन परामर्शदाताका प्रतिनिधि सहभागी भएर वैकल्पिक रेलमार्गको अध्ययन गर्ने सहमति भएको हो । महानगरपालिकाले भरतपुर वडा नं ११ र १२ को वन क्षेत्रको सीमाबाट वैकल्पिक रेलमार्ग प्रस्ताव गरेको छ । 

यसैगरी राप्ती नदी किनार हुँदै दोस्रो विकल्प महानगरले प्रस्ताव गरेको छ । यी मार्गको अध्ययन गर्न लागिएको हो । प्रमुख दाहालका अनुसार अहिले प्रस्तावित रेलमार्गमा महानगरपालिकाको वडा नं ८, ७, ४ र १६ का एक हजारभन्दा बढी घरधुरी पर्दछन् । बाक्लो बस्ती हुँदै रेलमार्ग सम्भावना नहुने भएकाले वैकल्पिक मार्गको प्रस्ताव गरेको उनले जानकारी दिइन् । 

रेलमार्ग प्रस्ताव गरिएका क्षेत्रका बासिन्दाले ठूलो नोक्सान हुने भन्दै सङ्घर्ष समिति बनाएर दबाब दिँदै आएका छन् ।
 
स्थानीयको मागपछि केही दिनअघि महानगरपालिकाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सचिव, रेल विभागका महानिर्देशकलगायतको उपस्थितिमा महानगरपालिकाले छलफल गरेको थियो । छलफलमा रेल विभागका महानिर्देशक रोहितकुमार विसुरालसहित विभागका परामर्शदाता कम्पनीका इन्जिनियरहरुको सहभागिता रहेको थियो । 
 

Advertisement

Advertisement