मेरो नैतिकता र नियतमाथि प्रश्न उठाउने ? भन्दै जंगिए मन्त्री गुरुङ

Advertisement

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफूमाथि नैतिकताको प्रश्न उठाएको भन्दै सांसदहरुसँग आक्रोश पोखेका छन् । आइतवार संसदको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा साँसदहरुले प्रश्न उठाएपछि उनले आक्रोस पोखेका हुन् । 

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा साँसदहरुले विधेयक अपराधीहरुलाई प्रश्रय दिने प्रावधानसहित सरकारले सुटुक्क ल्याएको आरोप लगाएका थिए । त्यसको जवाफ दिने क्रममा मन्त्री गुरुङले विनाकारण आफ्नो नैतिकता र नियतमाथि प्रश्न उठाउने काम नगर्न पनि सांसदहरुलाई चेतावनी दिए । 

Advertisement

पटक पटक छलफल गरेर सो विधेयक संसद र संसदीय समितिमा आउँदा पनि आफूमाथि गलत नियतका साथ किन प्रश्तुत भएको ? भनि उनले सांसदहरुलाई प्रतिप्रश्न समेत गरे । गुरुङले आफूहरुले सांसदहरुको कार्यक्षमतामाथि प्रश्न नगर्ने भन्दै घुमाउरो भाषामा शब्दकोश अध्ययन गर्न पनि सुझाव दिए । 

एकले अर्काको नियतमाथि प्रश्न उठाउँदै जाने कामले केही पनि उपलब्धि नहुने उनको तर्क छ । त्यसक्रममा मन्त्री गुरुङले आफू मन्त्री भएपनि निष्ठामा कहिल्यै पनि नडगमगाउने जिकिर गरे । उनले भने, ‘एउटा कुरामा मेरो गम्भीर प्रश्न पनि छ । यो विधेयक सुटुक्कसँग पास गर्न ल्याएको । अनि यहाँ बीचमा छिराएको आदिइत्यादि ढंगबाट आएको छ । माननीय सदस्यहरुलाई म अत्यन्तै सम्मान व्यक्त गर्दै भन्न चाहन्छु– माननीय सदस्यहरुज्युको कार्य क्षमतामाथि म प्रश्न उठाउन चाहन्न । माननीय सदस्य त्यसै भएको होइन । जनताले निर्वाचित गरेर पठाइसकेपछि माननीय सदस्यहरुको कार्यक्षमतामा कसैले पनि प्रश्न उठाउन हुँदैन ।’ 

गुरुङले थपे, ‘मलाई त्यो पनि ज्ञान छ । त्यसैले त्यो ज्ञानलाई नोटिसमा राख्दै निवेदन गर्न चाहन्छु कि यो सुटुक्क पास गर्न खोजिएको रहेछ । कति गम्भिर यो कुरा । कसैको नैतिकतामाथि प्रश्न उठाउन पाइन्छ सभामुख महोदय ? नैतिक आचरण गलत गरेको भए नैतिकको प्रश्न उठाउनु । तर विनासितिमा कसैको नैतिकतामाथि प्रश्न उठाउन पाइन्छ ? कसैले नियतमाथि प्रश्न उठाउन पाईन्छ र सभापति महोदय ?’

Advertisement

Advertisement