नेपालमा कृषि क्षेत्रबाट तत्काल ६० लाखलाई रोजगारी दिन सकिन्छः वामदेव गौतम

Advertisement

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मुलुकमा कृषि क्षेत्रबाट तत्काल ६० लाख मानिसलाई रोजगारी दिन सकिने दाबी गरेका छन् । 

उनले नेपालमा तत्काल रोजगारीको अवसर दिने क्षेत्र कृषि भएको जिकिर गर्दै यसबाट हरेकले महिनामा तत्कालै ५०–६० हजार आम्दानी गर्ने भएकाले यो क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । 

Advertisement

सोमवार संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा गौतमले कृषि क्षेत्रको योजनावद्ध विकास हुन नसक्दा काम गर्ने जनशक्ति विदेश पलायन हुन बाध्य भएको पनि बताए ।  उनले नेपालमा विश्वमा नै नभएको सबै खालको खेतीबाली उत्पादन गर्ने जमिन भएकाले जनसंख्या व्यवस्थापनसहित मुलुकको आर्थिक क्षेत्रमा उलटफेर ल्याउन कृषि क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । 

गौतमले कृषिलाई प्राथमिकता नदिएर मुलुकमा जनसंख्याको उचित व्यवस्थापन गर्न नसकिने तर्क समेत गरे । उनले कृषियोग्य जमिनलाई खण्डिकरण नगर्न पनि सरकारलाई सचेत गराए । गौतमले भने, ‘हामीले तुरुन्तै रोजगारी दिने क्षेत्र भनेको त्यही कृषि हो । यसबाट हामीले अहिले भर्खरै ६० लाखलाई रोजगारी दिनसक्छौं । मैले लामो समयदेखि यो कृषि क्षेत्रमा काम गरेको हुनाले हामीले अहिले भर्खरै ६० लाखलाई योजनावद्ध रुपले रोजगारी दिनसक्छौं । र त्यसबाट महिनामा कमसेकम ५०–६० हजारको दरले हरेकले उत्पादन, आम्दानी गर्न सक्नेगरी विकास गर्न सकिन्छ ।’ 

उनले थपे, ‘तर त्यतातिर ध्यान गएको छैन । अव कृषि क्षेत्रलाई धान मात्रै होइन, दुध उत्पादन हामीले नै गर्ने, अण्डा उत्पादन हामीले नै गर्ने, मासु, माछा हामी आफैले उत्पादन गर्ने, फलफूले आफैंले उत्पादन गर्न सकिन्छ । त्यो थलो हामीसित छ । हामीसँग जस्तोसुकै संसारमा उत्पादन हुनसक्ने त्यो क्षेत्र हामीसँग छ । यस्तो वातावरण संसारमा कहीँ पनि छैन । त्यस्तो अवस्था छ । यो क्षेत्रमा हामीले योजनावद्ध रुपले जाऔं । यदि त्यसो गर्नसक्ने हो भने हामीले चाँडै नै परिवर्तन गर्नसक्छौ । एउटा उलटफेर चाहीँ गराई दिनसक्छौं । र, विदेश फौजमा भर्ना हुनै नपाउने अवस्था गराई दिउँ । केही त डलरका लागि पनि बाहिर जानै प¥यो । तर उनीहरुलाई पनि तालिम दिएर, उच्च तलवमानमा पठाउने गरौं । २०÷३० हजार नेपाली रुपैयाँ पाउने गरी जाने होइन । कम्तिमा एक लाख मासिक पाउने ठाउँमा हामीले पठाऔं । यस्तो नीतिको आधारमा हामी जान पर्यो ।’

Advertisement

Advertisement