नेपालगन्ज–कैलाश मानसरोवर ‘माउन्टेन फ्लाइट’ सुरु

Advertisement

नेपालगन्ज । नेपालगन्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउन्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा दुई दिनअघि गर्ने भनिएको उडान सोमबार सम्भव भएको हो । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण ‘भिजीबिलीटी’ कम हुँदा गत शनिबार उडान भएको थिएन ।

पर्यटन व्यवसायी केशव न्यौपानेले भारतीय पर्यटकसहितको हिमाली उडानले नेपालगञ्जको खस्कँदो व्यवसायलाई राहत मिल्ने र पर्यटनको क्षेत्रमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

Advertisement

‘याममा भारतीय पर्यटकका लागि कम्तीमा एउटा उडान भयो भने पनि त्यसले पर्यटकीय चहलपहल बढाउन मद्दत पुग्छ,’ उनले भने । उडानबाट कैलाश मानसरोवर जाँदा त्यहाँको आर्कषक दृश्यले पर्यटकलाई लोभ्याउने गरेको उनको भनाइ छ । 

पर्यटन व्यवसायी डा. ओम मिश्रले लामो समयको प्रयासपछि हिमाली उडान सुरु भएकामा खुसी व्यक्त गर्दै नेपालगञ्ज पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको बताए । उनले भने, ‘यहाँको पर्यटनमा कायापलट भएको छ र यो सहर पर्यटकीय सहरका रूपमा परिणत भएको छ ।’

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाटा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले उडानको सफलतासँगै आर्थिक रूपमा नेपालगन्जको भविष्य जोडिएको बताए । उनले यहाँको पर्यटन प्रवर्द्धनका लागि कायापलट हुने उल्लेख गर्दै नेपालगन्ज–पोखराको उडानलाई प्रभावकारी बनाउन आग्रह गरे । 

त्यस्तै, अर्का पर्यटन व्यवसायी विकास मिश्रले कैलाश मानसरोवरका लागि आफूले सकेजति योगदान गर्ने आश्वासन दिँदै कम खर्चमा मानसरोवर पुग्न पाएकामा भारतीय नागरिक खुसी भएको बताए । ‘कैलाश पर्वत घुम्नका लागि यो एउटा महत्त्वपूर्ण अवसर भएको उनको भनाइ छ ।

होटल व्यवसायी पुनम भुसालका अनुसार यसले पर्यटन उद्योगलाई फस्टाउन सहयोग गर्ने छ ।

पहिलो दिन मानसरोवर गएर बसेर भोलिपल्ट कैलाशको दर्शन गर्न सकिने बताइएको छ । 
 

Advertisement

Advertisement