‘बाँदर सनातन हिन्दू संस्कृतिसँग पनि जोडिएकोले यसलाई निकासी गर्ने कुरा गर्न मिल्दैन्’
‘बाँदर सनातन हिन्दू संस्कृतिसँग पनि जोडिएकोले यसलाई निकासी गर्ने कुरा गर्न मिल्दैन्’
काठमाडौं । संरक्षणविद्हरुले बाँदरको निकासी गर्नुपर्ने नेपाली कांग्रेसकी नेतृ आरजु राणाको भनाईप्रति आपत्ति जनाएका छन् । मंगलवार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनीहरुले बाँदरको निकासी गर्नु नहुने धारणा राखेका हुन् ।
उनीहरुले बाँदर नेपालको संस्कृतिसँग पनि सम्बन्धित भएको भन्दै नेपाली संस्कृति मास्नेगरी निकासी गर्ने काम गर्नु नहुने बताए । संरक्षणविद् तथा सरकारका पूर्वसचिव डा. उदयराज शर्माले नेपालमा पटक–पटक बाँदर निकासीको कुरा उठ्ने गरेको भन्दै त्यसो गर्नु नहुने बताए ।
उनले बाँदरको निकासी गरेर बाँदर आक्रमण कम नहुने बताउँदै बाँदरले अत्याधिक दुःख दिएको अवस्थामा सरकारले निर्णय गरेर बाँदर मार्न भने सकिने तर्क गरे । संरक्षित जनावरलाई मात्रै मार्न नपाउने नेपालको विद्यमान कानून रहेको उल्लेख गर्दै शर्माले रातो बाँदर संरक्षित जनावरभित्र नपर्ने बताए ।
यद्यपी बाँदर शिकार गर्ने जनावर पनि नभएको भन्दै उनले दुःख दिएमा सरकारले निकास दिनसक्ने बताए । त्यस्तै बँदेलले पनि धेरै दुःख दिने गरेको अवस्थामा बँदेललाई मार्न दिनुपर्ने शर्माले बताए । बँदेललाई बच्चामै निःशुल्क रुपमा व्यक्तिहरुलाई दिन सकिने पनि उनले बताए ।
पछिल्लो समय मानव र वन्यजन्तुका बीचमा द्वन्द बढ्दै गएको भन्दै उनले अधिक वन्यजन्तुप्रेमी हुनु पनि आवश्यक नभएको बताए । शर्माले भने, ‘द्वन्द्व बढ्ला भनेर हामीले के भनेका थियौँ भने संरक्षित सूचिमा नपरेका वन्यजन्तुहरु जुन छ, त्यो सूचिमा भएका वन्यजन्तुहरुलाई मध्यवर्ती क्षेत्रको वनमा शिकार खेल्न पाइन्छ भनेर नियमावलीमै छ यो कुरा । प्रयोगमा आउँन दिँदैन उहाँहरु । किन दिदैन भने, बन्दुक पड्कियो भने आर्मीलाई टेन्शन हुन्छ कहाँ पड्कियो ? किन पड्कियो ? उनीहरु दौडनुपर्ने । यस्तो रहेछ ।’
उनले थपे, ‘अर्को कारण अधिक प्रेमी भए । नयाँ जोगीले बढी खरानी धस्छ भनेजस्तै बढी वन्यजन्तुप्रेमी भएर पनि काम छैन् । यो पनि एउटा फसल नै हो । यसलाई पनि काट्नुपर्छ । झिक्नुपर्छ । त्यहाँबाट यदि बँदेलहरु आउँछ । त्यसले सबभन्दा बढी दुःख दिन्छ भने सानो बच्चाहरु त्यसको जुन समय हुन्छ । समयमा त्यो बच्चाहरुलाई हामीहरुले निःशुल्क लिन दिए भयो । निकासी गर्न दिए भयो । बँदेललाई मार्न दिए भयो । अब उहाँहरुले धेरैजसो बाँदरको कुरा गर्नुभयो । बाँदरको कुरामा उहाँहरुले के भन्नुभयो भने बाँदर त अब निकासी नै गर्नुपर्छ क्यारे । मैले भने तपाइँहरुलाई चेलिबेटी निकासी गरेर पुगेन । यहाँको मूर्तिहरु निकासी गरेर पुगेन । धर्म संस्कृतिसँग सम्बन्धित बाँदरलाई निकासी गर्ने विचार कसरी आयो ? मानिलिउँ तपाइँले १०० वटा बाँदर निकासी गर्नुभयो भने के बाँदरको आक्रमण कम हुन्छ ? यस्तो नचाहिने कुरा नगर्नुस् म कहिल्यै पनि कन्भिन्स् हुँदैन ।’
शर्माले आफ्नोे पालामा बाँदर निकासीको कोसिस पनि भएको स्मरण गरे । तर त्यसलाई आफूले रोकेको उनले बताए । शर्माले भने, ‘दीपक बोहोरा मन्त्री हुनुहुन्थ्यो त्यतिबेला । उहाँलाई मैले कन्भिन्स् गरेर रोकेको पनि हो । यदि बाँदरले साँच्चिकै दुःख दिन्छ भने बाँदरलाई मार्नुस् । समस्या छैन् । तर, जिउँदो बाँदरलाई ६ महिनासम्म उल्टो पारेर त्यो औषधि जसमा हामी २५ हजार मात्र पाउँछौँ, त्यसको लागि । बाँदर निकासी गर्ने हाम्रो धर्म संस्कृतिसँग आवद्ध भारतजस्तो देशले त निकासी अनुमति दिएको छैन् । हामी जान्ने भएर हाम्रो धर्म, संस्कृति मास्ने किसिमको काममा लाग्नु हुँदैन । यो कुनै धर्म भन्दा पनि बढी संस्कृति सँग सम्बन्धित कुरा हो भनेर मैले भने । बाँदर संरक्षित जनावर होइन । ढेडु बाँदर पर्छ । यो रातो बाँदर पर्दैन् । यदि सरकारले चाह्यो भने यसमा निकास दिन सक्छ । तर यो शिकार गर्ने जनावर नभएको हुनाले यसको शिकार हुन सक्दैन । तर यसले दुःख दिएर मार्नुप¥यो भन्ने कुरो उठ्यो भने त्यसलाई सरकारले यो विषयमा निकास दिन सक्छ ।’
लेखक अश्विनकुमार पुडासैनीले पोखरा–१९ का वडाध्यक्षले ‘मेरो रुख म काट्छु’ अभियानको नाममा आफ्नो घर वरपरको रुख काट्न निर्देशन जारी गरेको प्रसंग निकाल्दै त्यो समाधानको बाटो नभएको बताए । उनले रुख काटेर बाँदरको समस्या समाधान नहुने बताए । त्यस्तै निकासी गरेर वा मारेर पनि समस्याको समाधान नहुने उनको भनाई छ ।
समस्या समाधानका लागि वस्तीलाई व्यवस्थित र प्रकृतिमैत्री बनाउनुपर्ने पुडासैनीले बताए । उनले भने, ‘पोखरामा वडा अध्यक्षले बाँदरले दुःख दियो, त्यहाँ भएको रुख काट भन्नुभएछ । त्यो समाधान होइन । रुख काटेर समाधान हुँदैन । बाँदर मारेर पनि समाधान हुँदैन । बाँदर निकासी गरेर पनि समाधान हुँदैन । वन्ध्याकरण गर्नुप¥यो भनेर पनि भन्न थालेका छन् । त्यो पनि समाधान होइन । समाधान के हो त भन्दा जो पीडित छन्, ति पीडितहरु त्यो क्षेत्रमा पुगेर र हाम्रो अवस्था के छ, त्यो हेरेर हाम्रो सांस्कृतिक परम्पराका कुरालाई पनि ध्यान दिएर के हो त समाधान ? हामी समाधान यसरी हेर्न सक्नुपर्यो ।’