काठमाडौं । आज युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश र रिडी पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । युनाइटेड अजोडले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ र रिडी पावरले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ माघ २२ गते बुकक्लोज गर्दैछन् ।
तसर्थ, आजसम्म नेप्सेमा कारोबार कायम शेयरधनीले युनाइटेड अजोडको साधारणसभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् भने रिडी पावरको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
युनाइटेड अजोडको साधारणसभा फागुन ६ गते बस्दैछ । सभाले हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५४०१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेलगायतका विभिन्न प्रस्ताव पारित गर्नेछ ।
साथै, रिडी पावरले हाल कायम चुक्ता पुँजीको १०ः५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपियाँ अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।